कांग्रेसमा ‘शक्ति’ बनेर देखिए गगन, पौडेल–कोइराला समूहको अवस्था के ?

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन कोरोनाको महामारीका बेला पनि गर्नुपर्छ भनेर वरिष्ठ नेता रामचन्द्र पौडेल समूह लागेको छ । जनता कोरोनाबाट डराएर घरबाट बाहिर निस्कन सकेका छैनन् । मजदुर र अति विपन्न परिवारका सदस्यहरू तनाबमा छन् । भोकै मर्नुपर्ने अवस्था आइरहेको छ । तर, पौडेल समूहलाई कोरोनाका बेला पद चाहिएको छ ।

मिलेर जानुभन्दा पनि कोरोनाको बेला महाधिवेशन गरेर जसरी पनि पद हत्याउने योजनामा पौडेल समूह लागेको हो । तर, पौडेल समूहको रणनीति थाहा पाएका सभापति शेरबहादुर देउवा पनि सर्तक छन् ।

महामारीका बेला पहिल ज्यान बचाउनुपर्ने र ज्यान बच्यो भने पार्टी रहने बुझेका देउवाले आफूलाई बद्नाम गर्नकै लागि पौडेल समूह महाधिवेशनका नाममा फण्डा गरिरहेको बुझेका छन् । विभागहरू बनाउन नदिन पौडेल समूहले महाधिवेशनको फण्डा निकालेको हो । पौडेल समूहभित्र महामन्त्री डा.शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा.रामशरण महत, डा.शेखर कोइरालालगायतले उप–गुटहरू चलाइरहेका छन् । हुन त देउवा समूहमा उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवार बन्ने तयारी गरेपछि खैलाबैला नै भएको छ ।

कांग्रेसमा विजय गच्छदारको पार्टीलाई समायोजन गर्न बाँकी छ । राप्रपाका नेता सुनिलबहादुर थापालाई मिलाउनै सकिएको छैन । क्रियाशील सदस्यता वितरण हुन सकेको छैन । प्रदेश समिति बन्न सकेको छैन । यस्तो अवस्थामा कांग्रेसको १४औँ महाधिवेशन फागुनमा हुने कुनै छाँटकाँट छैन । पौडेल समूहले देउवासँग कुरा गरेर बाँकी रहेका पार्टीभित्रको समायोजन लगायतका कुरा टुग्याउनुपर्नेमा विवाद मात्रै गरेर बसेको छ ।

उता, नेता कृष्णप्रसाद सिटौला समूह पनि फुटको संघारमा छ । सिटौलालाई नसोधेर गगन थापा, प्रदीप पौडेल र उमाकान्त चौधरी पौडेल समूहको जुम मिटिङमा सहभागी भएर देउवाविरुद्ध आन्दोलन गर्ने सहमति जनाएका छन् । गगन थापा आफैले गुट चलाउन थालेपछि सिटौला समूहलाई तनाब भएको हो । सिटौलाले पौडेल समूहमा आफूलाई बाध्यताले बेलाबेला सहभागी गराउने गरेका छन् । तर, भित्री रुपमा सिटौलाले पौडेललाई कुनै पनि हालतमा सहयोग गर्न सक्दैनन् ।

१४औँ महाधिवेशनमा देउवा र पौडेल सभापतिमा उम्मेदवार बन्ने अवस्था क्रमशः क्षिण हुँदै गएको छ । दोस्रो वरीयताका नेताहरूले धमाधम सभापतिको तयारी गरेपछि देउवा र पौडेलहरूको सम्भावना न्युन हुँदै गएको छ । यो कुरा बुझेका देउवा र पौडेलले अब नयाँ रणनीति बनाएर जाँनैपर्ने भएको छ ।

Published : Thursday, 2020 September 10, 9:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया