स्वास्थ्य सामग्रीमा कम्युनिस्ट सरकारले भ्रष्टाचार गर्‍योः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाका नाममा सरकारले भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

वीपी कोइरालाको १०७औँ जन्म जयन्तीका अवसरमार बुधबार आयोजित जुम अन्तरक्रियामा सभापति देउवाले कोरोनाले संक्रमण बढे पनि सरकारले पीसीआर परीक्षणको दायरा नबढाएको बताए । उनले आइसोलेसनहरू पर्याप्त नबनाएको भन्दै सरकारको आलोचना गरे ।

‘सरकारले कोरोनाका नामबाट पैसा भ्रष्टाचार गरेको छ’, देउवाले भने, ‘पीसीआरको दायरा बढाएको छैन । अरू देशमा अस्पताल र आइसोलेसन बनाएका छन् । नेपालमा सरकारले केही मतलब गरेको छैन ।’

स्वास्थ्य सामग्री खरिद लगायतमा अनियमितता भइरहेको भन्दै कांग्रेसले यसअघि पनि छानबिन गर्न माग गरेको थियो ।

देउवाले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा आफूहरूले दिएको सुझावअनुसार काम नगरेको बताए ।

सरकारले जनताका प्रजातान्त्रिक अधिकार खोस्न खोजिरहेको आरोप पनि देउवाले लगाएका छन् ।
वीपी कोइरालालाई सानो देशको उँचो व्यक्ति भएको नेताका रुपमा आफूले चिनेको देउवाले बताए । उनले वीपी गरिव जनताको नेता रहेको बताए । वीपीले नेपालमा समावेशिताको कुरालाई अगाडि बढाएको उनले बताए ।

Published : Wednesday, 2020 September 9, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया