काठमाडौं छिर्न नपाइने, भित्र निषेधाज्ञा खुकुलो, यस्ता छन् नियम

काठमाडौं । तीन हप्तादेखि निषेधाज्ञा लागू भएको काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा खुकुलो बनाइएकोछ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधबार बसेको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञा खुकुलो पारिएको बताएका छन्।

बिहीबारबाट जोरविजोरमार्फत सार्वजनिक र निजी सवारी साधन चल्नेछन् । १६ सिटभन्दा माथिका सवारीसाधन चल्छन् । माइक्रो बस, टेम्पो चल्न पाउने छैनन् । ट्याक्सीलाई भने रोक लगाइएको छैन ।

बिहीबार बिहानैदेखि सबै खालका पसल खुल्नेछन् । बढी भीड हुने ठाउँहरूलाई साताको तीन दिन मात्र खोल्न दिइनेछ ।

कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक पसल पनि खुल्नेछन् । सोमबार, बुधबार र शनिबार तीन दिन मात्र समय दिइएको छ । सपिङ मलहरूलाई पनि सोही नियम लागू गरिएको छ ।

अत्यावश्यक सेवामध्ये खाद्यवस्तु, दुध, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछारमासु बिक्री वितरणमा समय तोकिएको छ ।

पसल बिहान ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खोल्न दिइने छ । यसअघि बिहान ११ बजेसम्म मात्र खोल्न दिइँदै आएको थियो ।

बैंकहरू यसअघि नै सुचारु थिए । अब सहकारी पनि खोल्न पाइनेछ । सहकारीलाई बिहान ११ देखि ३ बजेसम्म खोल्न दिइने छ ।

शिक्षा मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्न पाउने अनुमति दिएको छ । उपत्यकाका सबै नाकाहरू साबिकझैं बन्द रहनेछन् । उपत्यकाभित्र मात्र सवारी चलाउन पाइनेछ ।

भाँडा, भान्साका सामग्रीका पसल आइतबार, मंगलबार र शुक्रबार मात्र खुल्न पाउनेछन् । फर्निचर र अटोमोबाइल पसल सोमबार र बुधबार मात्र खोल्न पाइने दाहालले बताएका छन् । वर्कसपहरू बिहान ८ देखि बेलुका ८ बजेसम्मै खुल्नेछन् ।

फुटपाथ, ठेला व्यापार, स्टेशनरी, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसल तथा डिपार्टमेन्ट स्टोरहरू बिहान ११ बजेसम्म र अपराह्न ४ देखि बेलुका ७ बजेसम्म खुल्ने छन् ।

दाहालका अनुसार होटल, रेष्टुरेन्ट र बार खोल्न पाइनेछैन । खुल्ला स्थानमा सभा–जुलुश, जात्रा महोत्सव हुन दिइनेछैन । मठ, मन्दिर, मस्जिदमा दैनिक पूजाआजाबाहेकका काम गर्न पाइने छैन ।
उद्योग र कलकारखाना चल्न दिइन्छ । चाडपर्वमा हुने जमघट हुन दिइँदैन । शैक्षिक संस्था चल्ने छैनन् ।

गोष्ठी, सेमिनार, शैलुन, स्पा, ब्युटी पार्लर खुल्ने छैनन् । चिडियाखाना तथा प्रदर्शनीहरू बन्दै रहनेछन् । श्रमिक, मजदुरलाई सामाजिक दूरी कायम नगरीकन ओसारपसार गर्न पाइनेछैन ।

निर्माण सामग्रीका पसल, निर्माण सामग्री ढुंगा, बालुवा, सिमेन्ट, रड, डण्डीलगायत बोक्ने ट्रक, टिपरहरूलाई यसअघि नै सञ्चालन हुन दिइएको थियो । निर्माण सामग्री बोक्ने सवारीसाधनलाई समय तोकिएको थिएन । पसललाई दिउँसो २ बजेदेखि राति ९ बजेसम्म तोकिएको थियो । राजधानीमा कोरोना संक्रमण व्यापक बढेपछि प्रशासनले भदौ ३ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

निषेधाज्ञा निरन्तर भइरहँदा आर्थिक गतिविधिहरू ठप्प भएपछि प्रशासन लचिलो भएको प्रजिअ दाहालले बताए । यसअघि मंगलबार सरोकारवाला सबै पक्षसँग छलफल गर्दा पनि चाडबाड नजिकिएका कारण आर्थिक गतिविधिहरू हुनुपर्ने राय पेश भएको थियो । उनले भने, ‘मलाई कोरोना लागेको छ । धेरै बस्न पनि सक्दैन ।’

Published : Wednesday, 2020 September 9, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया