कांग्रेसको मत ४६ प्रतिशत बढाउन सकेनौँ भने फेरि कम्युनिस्टले जित्नेछन्ः डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले लोकतन्त्रका विरोधीहरू सलबलाएको भन्दै त्यसलाई रोक्नुपर्ने दायित्व कांग्रेसको काँधमा आएको बताएका छन् ।

वीपी कोइरालाको १०७औँ जन्म जयन्तीका अवसरमा बुधबार आयोजित जुम अन्तरक्रिया कार्यक्रममा डा.महतले कम्युनिस्ट सरकारका लोकतन्त्र विरोधी गतिविधिलाई कांग्रेसले रोक्ने बताए ।

‘कम्युनिस्टहरूले भ्रम बेचेका छन् । सपना बेचेका छन् । आकाश पाताल जोड्ने कुरा गरेका छन् । नेपाली जनतालाई रणभुल्लमा पारेका छन्’, उनले भने, ‘यसलाई चिर्न कांग्रेसलाई चुनौती छ । कम्युनिस्टहरूको गलत कुराको जनता समक्ष भण्डाफोर गर्नुपर्छ ।’

नेपालमा कम्युनिस्टहरूले झण्डै दुईतिहाइको बहुमत पाएर निर्वाचन जितेको भन्दै सह–महामन्त्री डा.महतले भने, ‘विश्वमा कतै पनि कम्युनिस्टले जितेका छैनन् । कम्युनिस्टले नेपालमात्रै निर्वाचनमा जितेका छन् । झण्डै दुईतिहाम ल्याएका छन् ।’ कम्युनिस्टहरूले भ्रम र झुठा सपनालाई बेचेर जनतालाई गुमराहमा राखेर निर्वाचन जितेको उनले बताएका छन् ।

‘निर्वाचनमा कांग्रेसको ३६ प्रतिशत मत आएको छ । अबको निर्वाचनमा कांग्रेसले ४६ प्रतिशत बनाउनुपर्छ । अन्यथा गफ लगाउनेहरूले फेरि जित्नेछन्’, डा.महतले भने, ‘कम्युनिस्टले तीन वर्षमा के–के गरेका छन् । सबै हामीले देखेका छौँ । जनता निरास छन् ।’

‘प्रजातन्त्रलाई बलियो बनाउनुपर्छ । राष्ट्रियता बलियो बनाउन प्रजातन्त्र बलियो हुनुपर्छ’, उनले भने, ‘कम्युनिस्टका कारण राष्ट्रियता कमजोर भएको छ । छिमेकीहरूसँग सम्बन्ध बिगारेका छन् ।’

वीपी कोइरालाले त्यो बेला दुबै छिमेकीसँग राम्रो कुटनैतिक सम्बन्ध राखेका कारण सगरमाथा नेपालको भएको बताए । उनले भने, ‘सगरमाथाको कुरामा वीपीले अडान राख्नुभयो । सिपाही मारिएका थिए । त्यो कुरा पनि मिलाउनुभयो ।’

‘हामीले हाम्रो मुलुक कसैका विरुद्ध प्रयोग गर्न दिनुहुँदैन । सरकारले समृद्धिको स्रोतलाई नै समाप्त पार्ने काम गरेको छ’, उनले भने, ‘सीमित व्यक्तिको स्वार्थका लागि केन्द्रित गर्ने कम्युनिस्टको प्रवृत्ति खतरनाक छ ।’

‘कांग्रेसमा सिद्धान्तमा कुरा गर्नुपर्छ । वीपीले यसो भन्नुभयो भनेर मात्रै हुँदैन । उहाँको सिद्धान्तलाई अनुसरण गर्नुपर्छ’, सह–महामन्त्री डा.महतले भने, ‘कांग्रेसमा एकअर्कालाई गाली गर्नुको साटो एकताबद्ध भएर जानुपर्छ । असहमतिलाई पार्टीभित्रै छलफल गरेर मिलाउनुपर्छ ।’

‘कोरोना महामारीका बेला सरकारले जनतालाई बेवास्ता गरेको छ । जनता कोरोना र भोकले मरिरहेका छन् । सरकार कुनै योजनाविहीन छ’, डा.महतले भने, ‘कोरोनाको उपचार गर्न सोर्स लगाउनुपर्ने अवस्था छ । सरकारले उचित काम गरेको छैन । बाढीपहिरोमा काम गरेन । स्वास्थ्य सामग्रीमा लुछाचुडी गरेको छ ।’

कांग्रेसका सह–महामन्त्री डा.महतले कम्युनिस्ट सरकारको गतल कुराविरुद्ध कांग्रेसको शक्ति लगाउनुपर्ने बताए ।

Published : Wednesday, 2020 September 9, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया