चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाउन वीर र पाटन पुगे तरुण नेताहरू

काठमाडौं । नेपाल तरुण दलले कोरोनाभाइरसको संक्रमणका बेला उच्च जोखिममा रहेर कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूको मनोबल बढाउन स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको छ ।

तरुण दलले बुधबार १०७औं वीपी जयन्तीको अवसरमा पाटन र वीर अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेको अध्यक्ष जितजंग बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लगनखेलअन्तर्गत हाडजोर्नी विभागमा १ हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस शिल्ड हस्तान्तरण गरिएको छ ।

वीर अस्पतालअन्तर्गत नाक, कान, घाटी विभागलाई १ हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस शिल्ड नेपाल तरुण दल केन्द्रीय समितिको तर्फबाट हस्तान्तरण गरिएको बस्नेतले बताए ।

स्वास्थ्य सामग्री हस्तान्तरणमा अध्यक्ष बस्नेत, उपाध्यक्ष उत्तम चापागाइँ, कोषाध्यक्ष विद्वान गुरुङ, तरुण नेता विजय केसीलगायतका नेताहरू पाटन अस्पताल र वीर अस्पताल पुगेका थिए ।

तरुण दलको सो कार्यमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेञ्ज फाउण्डेसनका अध्यक्ष मेञ्ज खानले सहयोग गरेका थिए ।

Published : Wednesday, 2020 September 9, 1:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया