कांग्रेसले यसरी मनाउनेछ वीपी जयन्ती, के–के छन् कार्यक्रम ?

काठमाडौं । नेपाली कांग्रेसले जननेता वीपी कोइरालाको १०७औं जन्म जयन्ती मनाउन विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान विज्ञप्ति जारी गरेर भदौ २४ गते तथा यहि साताका फरक दिनहरूमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाउन जिल्ला र विदेशस्थित जनसम्पर्क समितिहरूलाई केन्द्रीय समितिका तर्फबाट एकसाताअघि परिपत्र गरिसकिएको बताएका छन् ।

‘कोरोना प्रतिकुलताबाट सुरक्षित रहँदै स्थानीय परिस्थिति हेरि अनिवार्य रुपले भौतिक दुरी र अनिवार्य मास्क प्रयोग गरेर अथवा भर्चुअल रूपमा कार्यक्रम गर्न सूचित गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘राहत वितरण, मास्क वितरण, सचेतना कार्यक्रम समेत यो अवसरमा समाविष्ट रहनेछन्’, विज्ञप्तिमा भनिएको छ ।

‘केन्द्रीय तहबाट तीन दिने कार्यक्रम तय गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘जुममार्फत हुने कार्यक्रमको समय, विषय र वक्ताबारे जानकारी दिन यो प्रेस नोट जारी गरिएको छ ।’

कांग्रेसले भदौ २४ गते अपरान्ह १ बजे ‘वीपीको विचार नेपालको समुन्नतिको मूल बाटो’ विषयक विचार गोष्ठि हुनेछ ।

गोष्ठिमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । कार्यक्रमको संयोजन नेपाली कांग्रेस केन्द्रीय कार्यालय रहनेछ । भदौ २५ गते अपरान्ह १ बजे ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा वीपीको योगदान’

विषयक विचार गोष्ठि हुनेछ । कार्यक्रममा उपसभापति विमलेन्द्र निधि एवं विज्ञहरू सहभागी हुनेछन् । कार्यक्रमको संयोजन केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान हुनेछ ।

भदौ २६ गते अपरान्ह १ बजे ‘विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति’ विषयक कार्यक्रम हुनेछ । कार्यक्रमका वक्ताहरू बौद्धिक चिन्तकद्वय नरहरि आचार्य र प्रदीप गिरी रहेका छन् ।

यस कार्यक्रमको संयोजन सूचना, संचार तथा प्रचार विभाग रहेको छ । जुममार्फत हुने तीन दिनको कार्यक्रम पार्टीको फेसबुक पेजबाट लाइभसमेत गरिनेछ ।

Published : Tuesday, 2020 September 8, 11:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया