विश्वप्रकाशको विभाग सक्रिय, कार्यक्रम र उपसमितिहरू घोषणा

काठमाडौं । नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागले न्यूनतम योजना र दीर्घकालीन उपयोगितासहितको विभिन्न निर्णयहरू गरेको छ ।

विभागलाई कार्य गर्न प्राप्त छोटो समयलाई दृष्टिगत गरेर ‘न्यूनतम योजना तर दीर्घकालीन उपयोगिता’को नीति लिंदै सोही अनुरुप कार्य गर्ने जनाइएको छ ।

नीति बमोजिम नेपाली कांग्रेसलाई सूचना, संचार र प्रचारको क्षेत्रमा आधुनिक प्रविधि मैत्री (डिजिट्लाइज्ड) बनाउँदै अघि बढ्ने अभियान शुरूवात गर्ने विभागले निर्णय गरेको कांग्रेस प्रवक्ता एवम् विभागका प्रमुख विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘प्रविधि मैत्री अभियानको शुरूवातमा पार्टीको वेबसाईटलाई यथाशीघ्र अत्याधुनिक रुपान्तरणका साथ सार्वजनिक गर्ने शर्माले बताए ।

विभागले प्रविधि मैत्री अभियान र विभागका अन्य कार्यलाई चुस्त दुरुस्त बनाउन नेपाली कांग्रेसको बिधानको धारा ३७ को (ज) बमोजिम विभिन्न उपसमिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।

विभागले वेबसाईट संयोजन उपसमितिको संयोजक गोवर्धन राना मगरलाई तोकेको छ ।

छहारी संवाद संयोजन उपसमितिमा डा.सुरेश आचार्य, प्रविधि संयोजन उपसमितिमा ई.दीपेश विष्ट, टेलिभिजन नेटवर्क सूचना संयोजन उपसमितिमा नीर शाह र रेडियो नेटवर्क सूचना संयोजन उपसमितिमा गोपाल झा, नियमित सूचना सम्प्रेषण संयोजन उपसमितिमा दिनेश थापा मगरलाई जिम्मेवारी दिइएको छ ।

‘विभाग सार्वजनिक हुनु पूर्वदेखि आन्तरिक रूपमा कृयाशील रहेको ‘कांग्रेस सूचना नेटवर्क’मा विषयगत योग्यताका साथीहरू थप समाविष्ट गर्दै विभागमा रहेका साथीहरूको प्रदेश स्तरीय एवं बिषयगत जिम्मेवारी ब्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘विषयगत अध्ययन र अवधारणा निर्माण उपसमिति एवं सामाजिक सञ्जाल केन्द्रित उपसमिति गठन गरेर सामाजिक सञ्जालमा अभिब्यक्त हुने भावना र विचार समेतलाई आत्मसात गर्दै विभागको सार्वजनिक प्रस्तुतिलाई सैद्धान्तिक र ब्यवहारिक दुबै कोणबाट सबल बनाउने निर्णय बैठकले गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘कोरोना संक्रमणको वृद्धिदर र मृत्युदर दुवै तिब्रतर ढंगले बढ्दै गएको स्थितिमा सूचना, सञ्चार तथा प्रचार विभागले सार्वजनिक प्रस्तुतिमा थप अध्ययन र विश्लेषणको गहनता राख्नुपर्ने टड्कारो आवश्यकता दृष्टिगत गर्दै बैठकले जनचेतनामा निर्वाह गर्नुपर्ने भूमिका एवं सरकारलाई दिने सुझाव र दबाबमा बढ्दो चुनौती अनुरुपको अवधारणा निर्माण गर्न ‘कोभिड–१९ सूचना संयोजन उपसमिति’ गठन गरेको छ’, शर्माले भनेका छन् ।

नेपाल मेडिकल एसोसिएसनका पूर्व राष्ट्रिय अध्यक्ष एवं विभागका सदस्य डा.अञ्जनी झालाई बैठकले संयोजकको अभिभारा सुम्पिएको जनाइएको छ ।

विभागले दुई वटा कार्यदल पनि गठन गरेको छ । ‘भिन्न समुदायका मुद्दा र मानसिकताको पछिल्लो स्थितिको सूचना र तथ्य अध्ययन गरेर आवश्यक संवाद रणनीति निर्माण गर्न बजरंग नेपालीलाई अध्ययन कार्यदल संयोजकको अभिभारा बैठकले सुम्पिएको छ’, बैठकमा भनिएको छ ।

‘पछिल्लो पुस्तामा पार्टीको विचार र सिद्धान्त सम्प्रेषण गर्ने सम्बन्धमा प्रविधि मार्फतको बिशेष अभियान अघि बढाउन आवश्यक रणनीति र योजना निर्माण गरि प्रस्तुत गर्न विभागका सदस्य विकल राईलाई कार्यदल संयोजकका रूपमा बैठकले जिम्मेवारी सुम्पिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

विभागले नेपाली कांग्रेसको केन्द्रीय मुखपत्र “नेपाल पुकार” प्रिन्ट र डिजिटल दुवै माध्यममा प्रकाशन गर्ने निर्णय बैठकले गरेको छ ।

Published : Monday, 2020 September 7, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया