कांग्रेसका विभागहरू विघठन हुँदैनन्, झगडा होइन, मिलेर पार्टी बनाऔँः सुरेन्द्र पाण्डे

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभामा संसदीय दलका पूर्व नेता सुरेन्द्र पाण्डेले पार्टीका विभागहरू खारेज नहुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान अन्तर्वार्ताका क्रममा नेता पाण्डेले विभागहरू विघटनका लागि नबनाइएको बताए । पार्टीको महाधिवेशन कसरी गर्ने भनेर बिकल्प खोज्ने बेला रामचन्द्र पौडेल समूहले अनावश्यक बखेडा निकालेर विवाद खडा गरेको उनले बताएका छन् ।

नेताहरूका बीच आरोप प्रत्यारोप भएको विषयमा पाण्डेले भने, ‘नेताहरूलाई महाधिवेश लागेको छ । अझै आरोप प्रत्यारोप हुन्छ ।’

छ महिनामा गर्नुपर्ने विभाग गठन अहिले आएर हुनुमा केही समस्या भएको बताएका कांग्रेस नेता पाण्डेले भने, ‘रामचन्द्र पौडेलहरूले पनि डेढ वर्ष अगाडिसम्म विभाग गर्ने कुरामा सहमत हुनु हुन्थ्यो । सहमति खोज्ने कुरा भएकै हो । अहिले आएर केमा कुरा मिलेन ?’

‘विभागहरू विघटन गर्न बनाइएको होइन । उहाँहरू अनसन नबस्दा नै हुन्छ । विभागहरू खारेज हुँदैन’, उनले भने, ‘कोरोनाले गर्दा महाधिवेशन अन्यौल भएको छ । यस्तो बेला कसरी महाअधिवेशन गर्ने भनेर सरसल्लाह गर्नुपर्ने बेला छ’, उनले प्रश्न गर्दै भने, ‘तैँले गरेको थिइस्, मैले किन नगर्ने ? आफूलाई चित्त बुझ्दा विधान नचाहिने, चित्त नबुझदा विधान चाहिने ?’

‘रामचन्द्र दाईहरूले भाग बण्डा लिदा शुरुदेखि कहाँ काहाँ लिनुभयो ? विधि र विधानको कुरा गर्नेहरूले शुरुदेखि नै विरोध गर्नुपर्दैन थियो ?’, नेता पाण्डेले भने, ‘राजनीतिक दलमा सहमति, सहकार्य र मेलमिलापका आधारमा जानुपर्छ । उहाँहरूले पनि के–के गर्नुभएको छ सबैलाई थाहा छ ।’

‘मलाई पनि महामन्त्री बन्न मन छ । तर, कार्यकर्ताले मलाई जिताउनु हुन्न । अझै मेरो समय आएको छैन’, उनले भने, ‘कार्यकर्ताले जसलाई पत्याउँछन् उसैले पार्टी चलाउँछ ।’

कांग्रेस नेता पाण्डेले भने, ‘शेरबहादुर देउवाले मात्रै होइन रामचन्द्र पौडेलजीहरूले पनि पार्टीलाई यो हालतमा पुर्‍याउन भूमिका खेल्नुभएको छ ।’

Published : Monday, 2020 September 7, 9:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया