मन्त्री गुरुङको जिल्लामा रित्तो गाग्रीसहित प्रदर्शन, कांग्रेसले गरायो सचेत

चरिकोट । खानेपानीको समस्या भएपछि दोलखाको चरिकोटमा स्थानीयले प्रदर्शन गरेका छन् ।

चरिकोटमा आइतबार रित्तो गाग्रीसहित मेलुङ गाउँपालिका–४, भेड्पुका उपभोक्ताहरूद्वारा खानेपानी मागेर रित्तो गाग्री प्रदर्शन गरेका हुन् ।

भेड्पुस्थित अरले खानेपानी आयोजनाको लागि आएको बजेट गाउँपालिकाले आर्थिक वर्षको शुरुमै रकमान्तर गरी अन्यत्र लैजान खोजेपछि प्रदर्शन भएको छ ।

वडाका वडाध्यक्ष छत्रबहादुर तामाङसहितका उपभोक्ताहरूले रित्तो गाग्री, बाल्टिन, जर्किनसहित खानेपानी माग्दै विरोध प्रदर्शन गरेका छन् ।

४ दिनदेखि उत्पन्न विवादका कारण उपभोक्ता समितिका अध्यक्षसहित ५ जना पक्राउ गरी मुद्धा चलाएपछि द्वन्द्व चर्किएको छ ।

केन्द्र सरकारले खानेपानी आयोजनाको लागि तोकेर पठाएको ९० लाख बजेट गाउँपालिकाले अन्यन्त्र रकमान्तर गरेको छ ।

बजेट रकमान्तर गरेको विरोधमा ज्ञापनपत्र बुझाउन गएका उपभोक्ता समितिका अध्यक्षसहित ५ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

उपभोक्ताहरूले गाउँपालिकाको कार्यालयमा तालावन्दी गरेपछि चरिकोटदेखि गएको प्रहरीको टोलीले उपभोक्ता समितिका अध्यक्ष कृपाश्वर गोले, प्रवीण थोकर, कुमार गोले, मधुकर गोले र सपन गोलेलाई पक्राउ गरेको छ ।

स्थानीय उपभोक्तासहितको टोलीले आइतबारनै जिल्ला समन्वय समितिमा तोकिएकै स्थानमा खानपानीको बजेट कार्यान्वयन गराईदिन समन्वय प्रमुख डबल पाण्डेलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाली कांग्रेस दोलखाले आइतबार उपभोक्ताको समर्थनमा साँझ विरोध जुलुस समेत निकालेको छ ।

कांग्रेसले खानेपानीका लागि आएको बजेट अन्यत्र रकमान्तर गर्ने, खबरदारी गर्दा पक्राउ गरेर थुन्ने जस्ता कार्य गरेको भन्दै विरोध जनाएको छ । पक्राउ परेकाहरूलाई तत्काल रिहाइ गर्न कांग्रेसले माग गरेको छ ।

दोलखा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङको गृहजिल्ला पर्छ । जिल्लामा खानेपानीको समस्या र अनियमितता हुँदा पनि जनप्रतिनिधि समेत रहेका मन्त्री गुरुङले समाधानका लागि कुनै पहल नगरेको भन्दै विरोध भएको छ ।

Published : Sunday, 2020 September 6, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया