ओलीका ‘दूत’ सुटुक्क खुमलटार छिरे

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गोप्य रुपमा भेट गरेका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको सन्देशसहित दाहाललाई भेट्न शनिबार खुमलटार पुगेका पौडेल र पोखरेलले के कुरा गरे भन्नेबारे केही भनिएको छैन ।

ओलीको दूत बनेर खुमलटार पुगेका पौडेल र पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालको असहमति, नयाँ मन्त्रीको सूची, उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको मनोनीत सांसद बनाउन ढिलाइ लगायतका विषयमा कुराकानी गरेको उच्च स्रोतले जनाएको छ ।

पौडेल र पोखरेल शनिबार बिहानै खुमलटार पुगेका थिए । ओलीको दूत बनेर आएका उनीहरूका विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमसहितका नेताहरूले विभिन्न आशंकाहरू गरेपछि खुमलटारले समाचार लिक गराएको छ ।

वरिष्ठ नेता नेपाललाई बीचमा धोका दिएर दाहाल प्रधानमन्त्री ओलीसँग सहमति गरेपछि नेकपाभित्रको समीमरणमा उथलपुथल भएको छ ।

नेता नेपालले सचिवालयमा पेस भएको सहमतिको प्रतिवेदनमा आलोचनात्मक १५ बुँदे टिप्पणी गरेका थिए । नेपालको असहमतिपछि ओलीलाई सोही विषय देखाएर सत्ता लम्बाएर अगाडि बढ्ने योजना रहेको चर्चा छ ।

स्रोतका अनुसार ओलीले राजनीतिक नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, प्रदेश सरकार पुनर्गठन, अख्तियारमा नियुक्तिलगायतका विषयमा दाहालसँग कुरा गर्न पौडेल र पोखरेललाई पठाएका हुन् ।

ओलीले सचिवालयमा गौतमलाई राष्ट्रिय सभामा मनोनीत सांसद बनाउन ढिलाइ गरेको विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ ।

Published : Sunday, 2020 September 6, 2:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया