पौडेल–कोइरालाको बैठकमा गगनको प्रवेशले खुसीयाली, सिटौलाद्वारा बहिस्कार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र कृष्णप्रसाद सिटौला समूहले सभापति शेरबहादुर देउवाविरुद्ध विभागहरू गठन र विस्तारको निर्णय फिर्ता गराउन दवाव दिने निस्कर्षमा पुगेको छ ।

शनिबार भएको भर्चुअल बैठकमा ‘पौडेल–कोइराला–सिटौला’ समूहले देउवालाई निर्णय सच्याउन अल्टिमेटम दिने निष्कर्षमा पुगेको हो । उनीहरूले देउवाले विधान विपरीत गरिएका निर्णय सच्याउनुपर्ने माग गरेका छन् । विधान विपरीत भएका गतिविधिहरू एक हप्ता नसच्याए दवाव दिने तयार ‘पौडेल–कोइराला–सिटौला’ समूहले गरेको छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा.शेखर कोइराला, डा.रामशरण महत, महेश आचार्य, दीपक गिरी, किरण यादव, धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापा, गुरू घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, उमाकान्त चौधरीलगायत नेता सहभागी थिए । नेता कृष्णप्रसाद सिटौला सहभागी नभए पनि उनको टिमका नेताहरू बैठकमा सहभागी थिए । सिटाैलाले सभापति देउवालाई गर्न बाेलाइकाे बैठक बहिस्कार गरेका हुन् ।

पौडेल–कोइराला समूहले गठन गरेको तीन सदस्यीय समितिले तयार पारेको प्रतिवेदनमाथि नेताहरूले धारणा राखेका थिए ।

केन्द्रीय सदस्य गुरुराज घिमिरे, जीवन परियार र बद्री पाण्डे सम्मेलित समितिले विभाग गठन, क्रियाशील सदस्यता वितरणमा अपारदर्शीता, भ्रातृ संस्थाको म्याद थपबारे रणनीतिक प्रतिवेदन बनाएको छ ।

सभापति देउवाले ४७ वटा विभागमध्ये २० वटा विभाग बनाएका छन् । पौडेल–कोइराला समूहले विभाग विस्तार गरेकोमा विरोध गर्दै आएका छन् ।

पौडेल–कोइराला समूहले सभापति देउवाले पार्टीमा नवप्रवेशीलाई आफू खुसी क्रियाशील सदस्यताको फाराम दिने गरेको भन्दै विरोध गरेको छ । देउवाले ९ वटा भ्रातृ संस्थाको म्याद थपेकोमा पनि पौडेल–कोइराला समूहको विरोध छ ।

पौडेल–कोइराला–सिटौला समूहले केन्द्रीय पदािधकारी, सदस्य, सांसद, जिल्ला सभापति र भ्रातृ तथा शुभेच्छुक संस्थासँग अन्तरक्रिया गर्ने, पत्रकार सम्मेलन गर्ने, जिल्ला तथा केन्द्रीय कार्यालयमा धर्ना दिने, जिल्ला तथा केन्द्रीय कार्यलयमा रिले र अन्तिममा आमरण अनशन बस्ने कार्यक्रमको मस्यौदा तयार पारेको छ । केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले सभापति देउवाविरुद्ध तयार भएका आन्दोलनका कार्यक्रमलाई परिमार्जन गरेर अगाडि बढ्ने बताएका छन् ।

नेता केसीले तत्कालीन सभापति सुशील कोइरालाले साढे तीन वर्षमा विभाग गठन गर्दा देउवाले केन्द्रय कार्यसमितिबाट राजीनामा दिएर अनशन र सत्याग्रहमा उत्रिएजस्तै आफूहरू त्यही बाटोमा जान लागेको बताए ।

धारणा राख्ने अधिकांश नेताहरूले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएर देउवालाई दवाव दिनुपर्ने सुझाव दिएका थिए ।

बैठकमा सिटौला समूहका गगन थापा, प्रदीप पौडेल र उमाकान्त चौधरीले पनि सभापति देउवाको विरोध गरेका छन् ।

गगन थापाले सभापतिबाट बदमासी भएको भन्दै सबै एक ठाउँमा आएर देउवालाई दबाब पुग्ने गरी अगाडि बढ्नुपर्ने बताएका छन् ।

Published : Saturday, 2020 September 5, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया