आफैले हराएका बामदेव सांसद बन्न लागेकाेबारे के भन्छ कांग्रेसका सञ्जयकुमार ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई मनोनीत सांसद बन्न लागेकोमा शुभकामना दिएका छन् ।

शनिबार सञ्जयले प्रतिक्रिया दिँदै बामदेवलाई नेकपाले सांसद बनाउन लागेकोमा पार्टीभित्रको आन्तरिक कुरा भएको भन्दै त्यसबारे भन्नु केही नरहेको बताए ।

बर्दिया क्षेत्र नं. १ बाट सञ्जयले नै बामदेवलाई प्रतिनिधि सभाको निर्वाचनमा नराम्रोसँग पराजित गरेका थिए । बामदेव तत्कालीन समयमा नेकपा (एमाले)बाट उम्मेदवार बनेका थिए ।

बामदेवलाई तत्कालीन एकीकृत माओवादीले पनि भोट हालेको थियो । बामदेवको घमण्डलाई चकनाचुर बनाउन बर्दिया– १ का जनताले सञ्जयलाई जिताएर पाठ सिकाएका थिए ।

बामदेवले आफू तत्कालीन एमालेकै नेताहरूले हराएको भनेर पार्टी मुख्यालय धुम्बाराहीमा उजुरी समेत दिएका थिए ।

सञ्जयले राजनीति र लोकतन्त्रमा जनमतलाई सम्मान गर्न सक्नु राम्रो हुने बताएका छन् । ‘जनमतको अवज्ञा गरेको राम्रो हुँदैन’, उनले भने, ‘मसँग पराजित हुनुहुने बामदेवजीलाई सांसद बनाउन खोज्नु नेकपाको आन्तरिक कुरा हो । यसमा खासै प्रतिक्रिया छैन ।’

सञ्जयले मुलुकको राजनीति अस्थिर बन्दै गएको वेलामा सत्तारुढ दलले जनतालाई विश्वास बढाउने काम गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘राजनीतिक दलप्रति जनतामा वितृष्णा भएको वेला यस्ता गतिविधि हुनु चिन्ताजनक छ’, सञ्जयले भने ।

Published : Saturday, 2020 September 5, 7:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया