कम्युनिस्ट भनेकै ‘लोभी’, प्रचण्डले रोपेको बीउ माधव हुँदै बामदेवसम्म यसरी आइपुग्यो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम निर्वाचनमा पराजित भएर मनोनीत सांसद बन्ने पहिलो व्यक्ति होइनन् ।

बामदेव सांसद बनिसकेका छैनन् । पार्टीले सांसद बनाउने निर्णय गरेको छ । बामदेवको हातमा सांसद बनेको प्रमाणपत्र आइपुगेको छैन ।

नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग बर्दिया क्षेत्र नं. १ बाट पराजित भएका बामदेव गौतम पराजित भएर सांसद बन्न लागेका पहिलो व्यक्ति होइनन् । कम्युनिस्ट भनेका लोभी हुन्छन् भन्ने उदाहरण नेकपाले दिएको छ ।

पहिलो संविधान सभाका बेला तत्कालीन एमालेका नेता माधवकुमार नेपाल पनि रौतहटबाट नराम्रोसँग पराजित भएका थिए । तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता नेपाललाई मनोनीत सांसद बनाएका थिए ।

नेता नेपालको भाग्य बलियो थियो । उनी प्रधानमन्त्री बन्न सफल भए । जनताबाट पराजितलाई मनोनीत गरेर माथिल्लो पदमा पु¥याने परम्परा प्रचण्डले नै भित्र्याएका हुन् ।

हारेर पराजित हुने परम्परा प्रचण्डले माधव नेपालमार्फत सुरुवात गरेका हुन् । नेता नेपालले धोका दिँदा प्रचण्डले नेपाललाई बिष वृक्षको संज्ञा समेत दिएका थिए । संयोगनै मान्नुपर्छ अहिले नेपाल र प्रचण्ड एउटै पार्टीमा छन् ।

कम्युनिस्ट भनेका व्यक्तिगत स्वार्थका लागि जेपनि गर्न सक्छन् भन्ने उदाहरण हुन् । जनताका अगाडि आदर्शका कुरा गरेर भोट मागेर व्यक्तिगत स्वार्थमा कम्युनिस्टका नेताहरू सबैभन्दा अगाडि छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले विष्णु प्रसाइँलाई बागमती प्रदेशको प्रमुख बनाएका छन् । प्रसाइँ झापाको मेचीनगरको मेयरमा पराजित भएका थिए ।

भगवती न्यौपाने तनहुँ जिल्लाको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् । उनी अहिले राष्ट्रिय सभाको सांसद छिन् । ओलीको पक्षमा गीत लेखेवापत न्यौपानेले उपहार स्वरुप ओलीबाट राष्ट्रिय सभाको सांसद पाइन् ।

विमला घिमिरे कपिलवस्तुको वाणगंगा नगरपालिकाको मेयर पराजित भएकी थिइन् । उनी पनि राष्ट्रिय सभाको सांसद छिन् ।

दाङको क्षेत्र नं. २ ‘क’को प्रदेशसभा सदस्य पराजित जगप्रसाद शर्मा राष्ट्रियसभाका सांसद छन् ।
सिन्धुपाल्चोकको लिसंखु–पाखर गाउँपालिकाको वडा सदस्यमा पराजित सिंहबहादुर बिकपनि राष्ट्रियसभाको सांसद छन् ।

गोरखा क्षेत्र नं. २ बाट पराजित नारायणकाजी श्रेष्ठ राष्ट्रियसभाको सांसद छन् । श्रेष्ठलाई डा.बाबुराम भट्टराईले पराजित गरिदिएका थिए ।

ताप्लेजुङको मेरिङ्गदेन गाउँपालिकामा वडा सदस्यमा पराजित हेमकुमारी साँवा प्रदेश १ को प्रदेश सांसद छन् ।

Published : Friday, 2020 September 4, 8:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया