बाग्लुङ र कालीकोटका बाढीपहिरोपीडितलाई क्षतिपूर्ति र राहत दिन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले देशभरि बाढी, पहिरो र डुवान लगायतका प्राकृतिक विपदका दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

खाँणले शुक्रबार विज्ञप्ति जारी गरेर नेपाली कांग्रेस पार्टीले बाढी, पहिरो र डुवानको क्षति न्यूनीकरणका लागि मौखिक रुपमा बारम्बार ध्यानाकर्षण गराउँदै आएको बताएका हुन् । उनले बारम्बार ध्यानाकर्षण गराउँदै आएता पनि कम्युनिस्ट सरकारले यस विषयलाई गम्भीर रुपमा नलिएको आरोप लगाए ।

‘सरकारले यस वर्षको बजेटमा समेत बाढी, पहिरो र डुवान नियन्त्रणलाई प्राथमिकतामा राख्न सकेन, सरकार यस्तो संवेदनशील विषयमा गम्भीर नहुनु अत्यन्त दुःखद् पक्ष हो’, उनले भनेका छन् ।

‘आफ्ना नागरिक प्रति जिम्मेवारीवोध नहुनु सरकारको यस किसिमको रवैया प्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ’, प्रमुख सचेतक खाँणले भने, ‘सरकारलाई यस विषयमा गम्भीर हुन नेपाली कांग्रेस पुनः आग्रह गर्दछ ।’

कांग्रेसका प्रमुख सचेतक खाँणले हालै बाग्लुङ र कालीकोटमा मानवीय क्षति हुने गरी ठूलो बाढी, पहिरोका घटना भएको भन्दै उद्धार, राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणले बाग्लुङको बाढीमा परी वेपत्ता भएका व्यक्तिहरूको तत्काल खोजी गरी उद्दार गर्न, घाइतेहरूको स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन माग गरेका छन् ।

उनले कालीकोट लगायत हालसम्म अन्य स्थानका बाढी, पहिरो डुवानबाट विस्थापित भएका घरपरिवारहरूलाई सुरक्षित स्थानमा पुनस्र्थापन गरी राहत विवरण र मृत्यु भएका घरपरिवारहरूलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।

कांग्रेसले बाढी, पहिरो र डुवानमा परी घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण जीवन गुमाउनु भएकाहरूप्रति श्रद्धाञ्जलि दिएको छ ।

बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा बुधबार रातिको बाढीमा परी करीब १५ जनाले ज्यान गुमाएका छन् । ४ जना घाइते, २३ जना बेपत्ता र करीब ३१ घरपरिवार प्रभावित भएका छन् ।

पहिरोमा परी कालीकोटको तिलागुफा नगरपालिका वडा नं. १ मा १० जनाले ज्यान गुमाउनुका साथै २ जना घाइते र नरहरिनाथ गाउँपालिकामा १ जनाको मृत्यु भएको छ ।

Published : Friday, 2020 September 4, 4:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया