विश्वास गरिएका एनपी साउदले देउवालाई फसाए, बैंकिङ कसुरमा थुनिएका धिताल उप–प्रमुख मनोनीत

काठमाडौं । बैंकिङ कसुरका विष्णु धिताललाई नेपाली कांग्रेसले शुभेच्छुक संस्था समन्वय विभागको उप–प्रमुख बनाएको छ ।

विभागका प्रमुख एनपी साउदले धिताललाई उप–प्रमुख बनाएका हुन् । साउद कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन् ।

धितालभन्दा राम्रा, वरिष्ठ र प्रभावशाली नेताहरू विभागमा छन् । तर, साउदकाे नजरमा बैंकिङ कसुरमा थुनिएका विवादित धितालनै परेका छन् ।

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा करीब डेढ अर्ब घोटाला भएको थियो । सो विषयमा उच्च अदालत पाटनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मुद्धा दायर भएको थियो ।

बैंकिङ कसुरमा प्रहरीले एक सय २७ जनालाई फरार अभियुक्त बनाएको थियो । प्रतिवादी धेरै भएको अहिलेसम्म पनि बैंकिङ कसुरको मुद्दा विचाराधीन अवस्थामा छ ।

सीआईबीले ९६ करोड ७७ लाख ५८ हजार ३ सय ९० रुपियाँ १० पैसा बिगो दाबी गरी मुद्दा बुझाएको छ ।

प्रारम्भिक अनुसन्धानमा एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपियाँ घोटाला भएको दाबी गरिए पनि करीव ५३ करोड रुपियाँ बैंकले धितोको लिलामीबाट उठाइसकेको छ ।

एपेक्स डेभलेपमेन्ट बैंक एनसीसी बैंकसँग मर्ज हुनुअघि धिताल एपेक्सको सञ्चालक समितिको अध्यक्ष थिए । धितालले अधिकारको दुरुपयोग गरेर कमसल धितोमा अधिक मूल्यांकन गरी कर्जा प्रवाह गरेका थिए ।

०७२ मंसिरमा मर्जर प्रक्रियामै रहेका बेला धितालसहितको टोलीले योजनाबद्ध ठगी गरेको अनुसन्धानबाट खुलेको थियो ।

बैंकिङ कसुरमा पक्राउ परेका धिताल ०७५ भदौमा धरौटीमा छुटेका थिए । मर्जरपछि एनसीसीमा बोर्डको निर्देशकसमेत बनेका थिए । धितालले त्रिचन्द्र क्याम्पसका पूर्व प्राध्यापक हुन् ।

Published : Friday, 2020 September 4, 2:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया