कांग्रेस सभापतिमा बलियो बनेर आए निधि, गगन–अर्जुनको साथ कसलाई ?

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिक आउँदै गर्दा सभापति पदमा को–को उम्मेदवार बन्ने भन्ने विषयमा दाबीहरू आउने क्रम यथावत छन् । सभापतिमा सबैभन्दा जोडदार रुपमा विमलेन्द्र निधिको तयारी देखिएको छ । निधिले बाहिर बोलेर भन्दा पनि भित्रभित्रै तयारीहरू गरिरहेका छन् । सभापति शेरबहादुर देउवासँग झण्डै सम्बन्ध विच्छेद गरिसकेका निधिले बानेश्वरमा बसेर तयारी गरेका हुन् ।

निधिले आफ्नो सभापतिको तयारीमा प्रदीप गिरीलाई मोर्चा सम्हाल्न दिएका छन् । गिरीले सबै पक्षसँग सम्वाद र वार्ताहरू गरिरहेका छन् । देउवाका निकै निकट मानिने गिरीले निधिलाई १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवार बनाएर जिताउने अभिभारा लिएका छन् ।

सोही अभियानअन्तर्गत गिरीले वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, नेता प्रकाशमान सिंह, डा.शेखर कोइरालालगायतसँग कुराकानी गरिसकेका छन् । गिरीलाई कसैले पनि स्पष्ट जवाफ दिएका छैनन् ।

तर, निधिप्रति धेरै नेताहरू लचक देखिएका छन् । महामन्त्री डा.शशांक कोइराला निकट मानिने डा.मीनेन्द्र रिजाल पनि निधिप्रति लचक रहेको स्रोतले जनाएको छ ।

निधिको तर्फबाट गिरीले गणेशमान सिंहका छोरा प्रकाशमान सिंहलाई १५औँ महाधिवेशनमा सभापतिमा साथ दिने भनेर प्रस्ताव राखेका छन् । सिंहले निधिलाई सो विषयमा स्पष्ट जवाफ दिएका छैनन् ।

१४औँ महाधिवेशनमा सिंहले निधिलाई उपसभापति बन्न सहयोग गर्ने । १५औँ महाधिवेशनमा निधिको समर्थनमा सिंहलाई सभापति बनाउने गरेर गृहकार्य भएको हो । तर, सिंहले निधिभन्दा आफू सिनियर रहेकाले १४औँ महाधिवेशनमा आफूलाई सहयोग गर्न निधिसँग आग्रह गरेका छन् ।

महामन्त्री डा.शशांक कोइरालाले सभापतिमा जिम्मेवारी बहन गर्न नसक्ने उनकै गुटभित्रका नेताहरूको बुझाइ छ । महामन्त्री डा.कोइरालाका अगाडि पछाडि लाग्नेहरूमा अधिकांश व्यापारी, तस्करहरू रहेको आरोप छ । महामन्त्री डा.कोइरालासँग पछिल्लो समय चीन निकट मानिने केही नेताहरू बिहान–बेलुका महाराजगञ्जमा अड्डा जमाएर बस्ने गरेका छन् ।

त्यस्ता व्यक्तिहरूबाट डा.कोइरालाले कांग्रेस सभापति जित्न पनि नसक्ने र जितिहाले पनि सभापति चलाउन नसक्ने चर्चा छ । सानो घेराभित्र रहेका महामन्त्री डा.शशांक कोइरालाभन्दा डा.शेखर कोइराला धेरै हदसम्म राम्रो मानिन्छन् ।

वरिष्ठ नेता नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनमा सभापति पाउने सम्भावना निकै कम भएर गएको छ । निधिका कारण देउवाले पनि सभापति पाउने सम्भावना निकै कम छ ।

समीकरण भताभुङ्ग भएका कारण देउवा र पौडेलका लागि १४औँ महाधिवेशन प्रतिकूल बनेको छ । सभापति बन्न नपाए देउवाले आफ्नी पत्नी डा.आरजु राणालाई महामन्त्री बनाउन पहल गर्नेछन् ।

देउवा र महामन्त्री डा.कोइरालाबीच झम्सीखेलमा रहेको विनोद चौधरीको होटेलमा केही दिन अगाडि गोप्य वार्ता समेत भएको छ । तर, महामन्त्री डा.कोइरालाले देउवासँग गोप्य वार्ता नभएको दाबी गरेका छन् ।

सो वार्तामा निधिलाई जसरी पनि हराउने तथा देउवालाई प्रधानमन्त्री, डा.कोइरालालाई सभापति, डा.राणालाई महामन्त्री, वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिका लागि कुराहरू अगाडि बढेको स्रोतको भनाइ छ ।

देउवा र डा.कोइरालाबीच सम्वाद गराइदिनेहरूमा डा.मीनेन्द्र रिजाल, दीपक गिरी, दीपक खड्का, ईन्द्र बानियाँ, उमेश श्रेष्ठलगायतको विशेष भूमिका रहेको चर्चा छ ।

उता, अर्जुन नरसिंह केसीले ज्वाइँ गगनकुमार थापालाई देउवाको टिमबाट महामन्त्री बनाउन गृहकार्य गरेको रहस्य बाहिर आएको छ । १३औँ महाधिवेशनमा देउवाको टिमबाट महामन्त्रीमा उम्मेदवार बनेर पराजित भएका केसीले ज्वाइँ थापालाई देउवाकै टिममा राख्ने तयारी गरेका हुन् ।

युवा नेता थापाले यस पटक जसरी पनि महामन्त्री बन्ने योजनामा छन् । पौडेल समूहमा रहेका केसीले आफ्नो समूहलाई बलियो बनाउनेभन्दा पनि विवाद गर्ने निर्णयहरू गराउँदै आएका छन् ।

हुन त डा.मीनेन्द्र रिजालले पनि आफ्नो व्यक्तिगत स्वार्थका लागि जे पनि निर्णय गर्न सक्ने नेताका रुपमा परिचय बनाएका छन् । महामन्त्री डा.कोइराला निकट मानिने डा.रिजालले अन्तिम समयमा निधिलाई साथ दिन सक्ने चर्चा भइरहेको छ ।

निधिलाई साथ दिने तयारीमा डा.रामशरण महत पनि रहेको भनेर कुराहरू हुन थालेका छन् । निधिसँग धेरै भेटघाट गर्नेमा युवा नेता किशोरसिंह राठौर, महामन्त्री डा.कोइराला निकटका चन्द्र भण्डारी पनि परेका छन् ।

निधिले देउवा निकटका अधिकांश नेताहरूसँग बाक्लै सम्वादहरू गरेका छन् । निधिले महामन्त्री डा.कोइराला, वरिष्ठ नेता पौडेल, नेता कृष्णप्रसाद सिटौला निकटका नेताहरूसँग सम्वादहरू गर्दै आएको उच्च स्रोतले जनाएको छ । (यूनाइटेड पोस्ट साप्ताहिकबाट साभार)

Published : Friday, 2020 September 4, 11:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया