ललितपुर घटनामा कांग्रेसको प्रतिक्रियाले कम्युनिस्ट सरकारलाई तनाब, बालुवाटारमा तरंग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा स्थानीय र प्रहरीबीच भएको हिंसात्मक झडपको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बिहीबार साँझ विज्ञप्ति जारी गरेर ललितपुरको घटनाप्रति दुःख व्यक्त गरेका हुन् । खाँणले कम्युनिस्ट सरकारले समन्वय गर्न नसक्दा ललितपुरमा घटना भएको जनाएका छन् ।

कांग्रेसको यो प्रतिक्रियाले कम्युनिस्ट सरकारलाई तनाब बढाइदिएको छ । बालुवाटारसम्म तरंग उत्पन्न भएकाे छ ।

‘सदियौंदेखि चल्दै आएका विभिन्न जात्रा पर्व हाम्रो संस्कृति र परम्पराका धरोहर हुन्’, उनले भने, ‘यसको हामी सबैले सम्मान एवं जगेर्ना गर्नु हाम्रो दायित्व तथा कर्तव्य हो ।’

‘हाल देश नै कोभिड १९ महामारीको कारण आक्रान्त रहेको अवस्थामा छ’, विज्ञप्तिमा भनिएको छ, ‘देशका विभिन्न स्थानका साथै काठमाडौं उपत्यकामा पनि दुई साताभन्दा बढी समयदेखि निषेधाज्ञा जारी छ ।’

‘यस्तो अवस्थामा परम्परागत रुपमा चल्दै आएका महत्वपूर्ण जात्रा सञ्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित सबै पक्षबीच आवश्यक समन्वय हुनु जरुरी थियो’, प्रमुख सचेतक खाँणले भनेका छन्, ‘समन्वय अभावको कारण आजको दुःखद परिस्थिति सृजना भएको हो ।’

‘तसर्थ कोरोना भाईरसको जोखिमलाई ध्यानमा राखी भौतिक दुरी कायमका साथै उच्च सतर्कता अपनाई रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई वार्ता एवं सम्वादको माध्यमबाट सहमति कै आधारमा निकास खोज्न नेपाली कांग्रेस संसदीय दल हार्दिक अपील गर्दछ’, कांग्रेस प्रमुख सचेक खाँणले भनेका छन् ।

नेपाली कांग्रेसले ललितपुरको घटनामा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको काम गरेको छ ।

Published : Thursday, 2020 September 3, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया