रामचन्द्र पौडेल संवैधानिक राजसंस्थाको पक्षमा उभिएकै हुन् ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्कालीन राजपरिवारसँगको सामूहिक तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन् ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको लामो समय भइसकेको छ । कांग्रेसको १४औँ महाविधेशन आइरहेको छ ।

यस्तो अवस्थामा कांग्रेसका वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जालमा राजपरिवारसँगको आफ्नो तस्वीर बिहीबार बिहान एकाएक सेयर गरेका छन् । यो तस्वीरले कांग्रेस र राजावादीहरूभित्र खैलाबैला ल्याइदिएको छ । वरिष्ठ नेता पौडेलको यो कार्यको धेरैले आश्चर्यजनिक रुपमा हेरेका छन् ।

तस्वीरमा कांग्रेसका नेता तथा कार्यकर्ताहरूले भन्दा पनि राजावादी र कमल थापा नेतृत्वको राप्रपाका नेता तथा कार्यकर्ताहरूले कमेन्ट लेखेका छन् । उनीहरूले वरिष्ठ नेता पौडेललाई ‘बल्ल बुद्धि पलायो ?’ भनेर कमेन्ट लेखेका छन् ।

तस्वीरमा तत्कालीन राजा स्व.वीरेन्द्र शाह, तत्कालीन रानी स्व.ऐश्वर्या राज्यलक्ष्मी शाह, युवराज स्व.दीपेन्द्र शाहलगायतका व्यक्तिहरूसँगै कांग्रेस नेता पौडेल उभिएका छन् ।

तस्वीरसँग वरिष्ठ नेता पौडेलले लेखेका छन्, ‘इतिहास जीवित रहन्छ । पृथ्वीनारायण शाहको होस् या लखन थापाको । आफ्नै अलग पहिचान छ । पहिचानको नाममा इतिहास मेटाउने काम गर्नु हुँदैन ।’

०६२–६३ को दोस्रो जनआन्दोलनसम्म नेपाली कांग्रेसले संवैधानिक राजसंस्था मान्दै आएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले निरंकुश शाही शासन लागू गरेपछि कांग्रेसले महाधिवेशनमार्फत आफ्नो विधानबाट ‘संवैधानिक राजसंस्था’ शब्दावली हटाएर गणतन्त्रमा प्रवेश गरेको थियो ।
कांग्रेसले छाडेको संवैधानिक राजसंस्थालाई कमल थापा नेतृत्वको राप्रपाले अंगाल्दै आएको छ ।

कांग्रेसको १४औँ महाधिवेशन शुरु भएका बेला वरिष्ठ नेता पौडेलले राजपरिवारसँग उभिएको आफ्नो तस्वीर सेयर गर्नुलाई धेरैले आश्चर्यजनक रुपमा लिएका छन् । कमेन्टमा केहीले वरिष्ठ नेता पौडेलले संवैधानिक राजा फर्काउनका लागि पहल गर्नुपर्ने र त्यसको नेतृत्व गर्नुपर्ने लेखेका छन् ।

वरिष्ठ नेता पौडेलले संवैधानिक राजसंस्थाको पक्षमा घुमाउरो भाषामा अभिव्यक्ति दिएका हुन् वा प्रथम शहीद भनिएका लखन थापा जनजाती भएका कारण उनको अमान गरिएको हो धेरैले आश्चर्य व्यक्त गरेका छन् । कसैकसैले कमेन्टमा वरिष्ठ नेता पौडेलले जनजातीहरूको अपमान गरेको भनेर पनि लेखेका छन् ।

चाहे चे भए पनि पौडेलले राजपारिवारसँग आफ्नो तस्वीर सार्वजनिक गरेर मुलुकमा संवैधानिक राजसंस्थाको पक्षमा बहस चलाइदिएका छन् ।

वीपी कोइरालाले राष्ट्रियताको विषयमा आफ्नो र राजाको घाँटी जोडिएको अभिव्यक्ति दिएका थिए । प्रजातन्त्रका विषयमा राजासँग मतभेद रहेको वीपीको भनाइ थियो ।

Published : Thursday, 2020 September 3, 1:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया