संविधान विपरित डा.खतिवडालाई दोहोर्‍याउन विश्व बैंकको दवाव, ऋण ल्याएर देश कँगाल बनाउने योजना

काठमाडौं । संविधानविद् डा.भीमार्जुन आचार्यले संसदीय अभ्यासमा असफल भएको व्यक्तिलाई गैह्र संवैधानिक कसरतबाट सांसद बनाउन लागेको भन्दै असन्तुष्टि जनाएका छन् ।

डा.आचार्यले बिहीबार बिहान ट्वीट गर्दै प्रतिनिधि सभा वा राष्ट्रिय सभामा एक कार्यकालमा एउटै व्यक्ति दुई पटक सांसद सदस्य बन्ने व्यवस्थामा संविधानमा नरहेको बताएका हुन् ।

‘संघीय संसद् अर्थात् प्रतिनिधि सभा वा राष्ट्रिय सभाको एक कार्यकालमा एउटै व्यक्ति दुई पटक संसद् (सांसद) सदस्य हुन पाउने व्यवस्था संविधानले कहीँकतै गरेको छैन’, डा.आचार्यले भनेका छन् ।

‘यो संसदीय अभ्यास पनि होइन’, उनले भने, ‘कसको स्वार्थमा पटक–पटक असफल भैसकेको व्यक्तिका लागि सरकारले गैह्र संवैधानिक कसरत गर्दैछ ? बुझ्न सकिएन ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपध्यक्ष बामदेव गौतम गृहजिल्ला बर्दियाबाट प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।

पराजित भएका गौतमले राष्ट्रिय सभाको मनोनीत सांसद बन्न कसरत गरिरहेका छन् । गौतमलाई राष्ट्रिय सभाको मनोनीत सांसद बन्न संविधानले बाटो छेक्दैन । तर, गौतमलाई मन्त्री बन्न भने संविधान बाधक छ । प्रतिनिधि सभामा पराजित भएको व्यक्ति सो कार्यकालमा मन्त्री बन्न नपाउने व्यवस्था छ ।

उता, प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्ना विश्वासपात्र अर्थमन्त्री डा.युवराज खतिवडालाई निरन्तरता दिन चाहेका छन् । डा.खतिवडाको राष्ट्रिय सभाको सांसद पद ६ महिना अगाडिनै समाप्त भइसकेको छ ।

छ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार डा.खतिवडा मन्त्री बनेका छन् । डा.खतिवडा भदौ २० गतेसम्म मात्रै मन्त्री बन्न पाउनेछन् ।

डा.खतिवडालाई पनि राष्ट्रिय सभामा दोहोरिएर सांसद बन्ने व्यवस्था संविधानमा उल्लेख नरहेको संविधानविद् डा.आचार्यको ट्विटले उल्लेख गरेको छ । डा.आचार्यकाअनुसार डा.खतिवडा राष्ट्रिय सभामा दोहो¥याएर सांसद बन्न पाउनेछैनन् ।

स्रोतका अनुसार विश्व बैंकले डा.खतिवडालाई राष्ट्रिय सभाको सांसदमा पुनः मनोनीत गराएर अर्थमन्त्रीमा निरन्तरता दिन चाहेको छ । विश्व बैंकको डिजाइनमा डा.खतिवडाले नेपालमा काम गर्दै आएको आरोप लाग्दै आएको छ ।

‘डा.युवराज खतिवडामार्फत कोरोना महामारीका नाममा मुलुकको अर्थतन्त्र तहस नहस पार्ने’, नेकपाका एक जना स्थायी समिति सदस्यले भने, ‘डा.खतिवडालाई पुनः सांसद बनाएर अर्थमन्त्रीमा निरन्तरता दिने । आफू अनुकूलको निर्णय गराउन विश्व बैंकको गिरोह सक्रिय भएर लागेको छ ।’

‘नेपालको अर्थतन्त्र तहस नहस भएपछि विश्व बैंकबाट ऋण ल्याउने’, ती नेताले भने, ‘नेपाललाई विश्व बैंकको कब्जामा लगेर विदेशीहरूको चलखेलको क्रिडास्थल बनाउन डा.युवराज खतिवडालाई प्रयोग गरिँदै छ ।’

डा.खतिवडाले विगतमा ल्याएका बजेटहरू नेकपाको घोषणापत्र विपरित रहेको तथा विश्व बैंकको निर्देशनमा आएको भनेर पटक–पटक आरोप लागिसकेको छ ।

नेकपाका नेताहरू डा.खतिवडाको बजेट र अर्थनीतिसँग असन्तुष्ट छन् । ती नेताका अनुसार उपाध्यक्ष गौतमभन्दा डा.खतिवडा देशका लागि सबैभन्दा धेरै हानिकारक रहेको दाबी गरे ।

Published : Thursday, 2020 September 3, 9:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया