ओली अर्थमन्त्री डा.खतिवडाकै पक्षमा, दाहालसँग अचानक वार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ भएको भेटवार्तामा सचिवालयको बैठकका विषयमा छलफल भएको स्रोतले जनाएको छ । नेकपाको सचिवालयको बैठक बिहीबार बस्दै छ ।

दाहालसँगको भेटमा ओलीले अर्थमन्त्रीमा युवराज खतिवडालाई निरन्तरता दिने इच्छा देखाएको स्रोतको भनाइ छ । ‘अर्थमन्त्रीमा डा.युवराज खतिवडाजीले राम्रो काम गर्नुभएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘बामदेव गौतमजीले राष्ट्रिय सभामा जाने इच्छा जनाउनु भएको छ । यो विषयलाई मिलाउनुपर्छ ।’

दाहालसँग ओलीले घुमाउरो भाषामा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न अनिच्छुक देखिएको जनाएका छन् । तर, दाहालले गौतमलाई राष्ट्रिय सभाको सांसदमा मनोनीत गर्ने विषयमा के गर्ने भनेर ओलीलाई स्पष्ट जवाफ दिएका छैनन् ।

गौतमले राष्ट्रिय सभाको सांसद बन्ने इच्छा जनाएपछि ओली तनाबमा परेका छन् । ओलीले डा.खतिवडालाई नै राष्ट्रिय सभामा मनोनीत गरेर अर्थमन्त्रीको जिम्मेवारी दिइरहन चाहेका छन् । गौतमका कारण के गर्ने भनेर ओली समस्यामामा परेका हुन् ।

कोरोना महामारीका बेला जनताको जीवन रक्षा गर्ने बेला उपाध्यक्ष गौतम राष्ट्रिय सभामा मनोनीत सांसद बनेर अर्थमन्त्री बन्ने दाउमा लागेका छन् । गौतम गृहजिल्ला बर्दियाबाट नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।

Published : Wednesday, 2020 September 2, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया