काठमाडौं उपत्यकामा कर्फ्यू लगाउन माग

काठमाडौं । कोरोनाभाइरसको संक्रमण तीब्र गतिमा बढेपछि काठमाडौं उपत्यकामा १५ दिन कर्फ्यू आदेश जारी गर्न मेयरहरूले माग गरेका छन् ।

उपत्यका नगरपालिका मेयर फोरमले १५ दिन कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडा बनाउनुपर्ने माग गरेका हुन् ।

मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू आदेश जारी गर्न सुझाव दिएको जानकारी दिए ।

श्रेष्ठले केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाइ थप १५ दिन कर्फ्यू आदेश जारी गरे मात्रै कोभिड १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताएका छन् ।

उनले १५ दिन सम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको बताए । उनले अझैपनि मानिसहरू बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कफ्र्यु नै उत्तम विकल्प भएको बताए ।

समुदाय स्तरमा संक्रमण फैलिइसकेको अवस्थामा मानिसहरूको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने पनि उनले बताएका छन् ।

उपत्यकामा भदौ ३ गते मध्यरातदेखि निषेधाज्ञा जारी भएको थियो । निषेधाज्ञाको समय बुधबार मध्यरातदेखि सकिदै छ ।

Published : Wednesday, 2020 September 2, 3:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया