बास्काेटाकाे सत्तरी करोड कमिशन काण्ड बाहिर ल्याउने मिश्रले जापानबाट के भने ?

काठमाडौं । तत्कालीन सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोड घुस काण्डको अडियो सार्वजनिक गरेका विजयप्रकाश मिश्रले आफू नभागेको बताएका छन् ।

बुधबार विज्ञप्ति जारी गरेर मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उक्त प्रकरणमा सहयोग मागिएकाले अडियो रेकर्डिङको डिभाइस लिन आफू जापान आएको बताएका हुन् ।

‘म फरार भएको भनी गरिएका प्रचारहरू गलत हुन्, अख्तियारको पत्रको आधारमा रेकर्डिङ डिभाइस मैले अख्तियारमा बुझाउनुपर्ने र त्यो डिभाइस जापानमा भएको हुँदा लिन म आएको हुँ’, उनले भने, ‘नेपाल फर्किने फ्लाइट निश्चित भइसकेको अवस्थामा भागेर जापान गयो भनी प्रचार गरियो ।’

बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको अडियो गत जेठमा सार्वजनिक भएको थियो ।

अडियो सार्वजनिकसँगै बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रको नाममा बुधबार नै सात दिने सूचना जारी गरेको छ ।

कुनै पनि राजनीतिक व्यक्ति वा सर्वसाधारण भ्रष्टाचारजस्तो राज्यविरुद्धको अपराधबाट उम्कन सक्दैन भन्दै मिश्रले भनेका छन्, ‘सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत मलाई आक्रमण गरी आफू पवित्र बन्न खोज्नु नेपाली राजनीतिमा देखिएको कालरात्रिन चरित्र हो ।’

उनले आफूलाई भाग्यो भनेर आरोप लगाउनु न्यायलाई विचलित पार्न, अनुसन्धानलाई फितलो बनाउन, जनताको ध्यान अन्यत्रै मोड्न गरिएको प्रोपोगान्डा भएको दाबी गरेका छन् ।

‘सेक्युरिटी प्रिन्टिङ प्रकरणमा बाहिर आउन बाँकी कुराहरू अझै गर्भमा दबिएर बसेका छन्, यी सबै प्रमाणहरू अख्तियारसमक्ष पेश गरिने छ’, उनले भनेका छन् ।

कसैको दबाब वा कुरा सुनेर आफू नबहकिने पनि मिश्रले बताएका छन् ।

उनले भने, ‘एक सच्चा नागरिकले राज्यप्रति बहन गर्नुपर्ने जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्नुपर्ने कुरा मलाई राम्ररी थाहा छ ।’

Published : Wednesday, 2020 September 2, 9:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया