बास्कोटाको मन्त्री पद खुस्काइदिएका मिश्रलाई अख्तियारले खोज्यो

काठमाडौं । गोकुल बास्कोटाको मन्त्री पद खुस्काइदिएका विजयप्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात दिनभित्र हाजिर हुन सूचना निकालेको छ ।

अख्तियारले बुधबार सूचना जारी गरेर सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । मिश्रसँग ७० करोड कमिशन काण्डका विषयमा केही कुरा बुझ्नुपर्ने भएकाले बोलाइएको सूचनामा उल्लेख छ ।

‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाई गरेको भन्ने समेतको विषयको अनुसन्धानको सिलसिलामा तपाईसँग केही बुझ्नुपर्ने भएकोले यो म्याद सूचना प्रकाशित भएको छ’, अख्तियारको सूचनामा भनिएको छ ।

‘यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृत सक्षम सम्पर्क राख्न आउनु होला, नआए कानून बमोजिम भई जानेछ’, सूचनामा भनिएको छ ।

मिश्र पछिल्लो समय जापानमा रहेको केही सञ्चारमाध्यमहरूले समाचार लेखेका थिए । उनै मिश्रले ७० करोड घुस मागेको अडियो टेप सार्वजनिक गरेपछि गोकुल बास्कोटाले सञ्चार, सूचना तथा प्रविधि मन्त्री पद गुमाउनु परेको थियो ।

७० करोड कमिशन काण्ड सार्वजनिक गर्ने मिश्रलाई सुरक्षा थ्रेट रहेको छ । तर, कम्युनिस्ट सरकारले उनलाई सुरक्षा नदिएको आरोप छ ।

अख्तियारले बास्कोटालाई ७० करोड कमिशन काण्डमा उन्मुक्ति दिने तयारी गरेको भनेर आरोप लागेका बेला मिश्रलाई बयानमा बोलाइएको छ ।

बास्कोटा कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीका अति निकटका नेतामा पर्छन् । ओलीको बालकोटस्थित निवासमा बास्कोटा बस्दै आएका छन् ।

Published : Wednesday, 2020 September 2, 8:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया