म्याग्दीमा कांग्रेसले भोका पेटहरू भर्‍यो, कम्युनिस्ट मुख्यमन्त्री हल्लिदै सेनाकाे हेलीमा घुमे

म्याग्दी । माउ पार्टी नेपाली कांग्रेसकाे निर्देशन र पहलमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले म्याग्दी जिल्लाका बाढीपहिरोबाट समस्यामा परेका पीडितहरूलाई खाद्यान्नसहितका राहत सामग्रीहरू वितरण गरेको छ ।

म्याग्दी कांग्रेसले राहत ढुवानीका लागि नेविसंघलाई जिम्मेवारी दिएकाे थियाे । बाढीपहिरोका कारण प्रभावित स्थानसम्म पुग्न समस्या भएका बेला नेविसंघले आधा बाटो ट्याक्टर र आधा बाटो ५० वटा खच्चडबाट खाद्यसहितका सामग्री लगेर पीडितलाई वितरण गरेको अध्यक्ष निर्मल खत्रीले जानकारी दिए ।

कांग्रेसले करीव दुई लाख दश हजार बराबरको खाद्यसहितका सामग्री वितरण गरेको छ । म्याग्दी कांग्रेसले निर्देशन दिएपछि नेविसंघले राहत सामग्री ताेकिएकाे स्थानमा पुर्‍याएर पीडितलाई वितरण गरेकाे हाे ।

राहत वितरणका लागि जापानबाट ज्वाला संग्रौला एक लाख वीस हजार र बेलायत ईशा गुरुङले २९ हजार बराबरको खाद्यसहितका सामग्री उलब्ध गराएको नेविसंघका अध्यक्ष खत्रीले बताए ।

म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–६ मराङमा असार २५ गते राति आएको बाढीपहिरोमा परि विस्थापित भएका घरपरिवारलाई कांग्रेसले राहत वितरण गरेको हो ।

म्याग्दीका बाढीपहिरो पीडितलाई केन्द्र सरकार र प्रदेश सरकारले राहत पुर्‍याउन नसकिरहेका बेला कांग्रेसले नेविसंघ म्याग्दीलाई परिचालन गरेर राहत पुर्‍याएर वितरण गरेको छ ।

‘हामीले तीन दिन लगाएर ५१ वटा खच्चडमार्फत राहत लगेर वितरण गरेका छौँ’, नेविसंघ म्याग्दीका अध्यक्ष खत्रीले भने, ‘अहिलेसम्म कै बढी मूल्य बराबरको राहत सामग्री नेपाली कांग्रेसले पनि पुर्‍याएको छ ।’

नेविसंघ र नेपाली कांग्रेस म्याग्दीले चामल, दाल, नुन, तेल, कपडा, चाउचाउ, चिउरा लगायतका खाद्यान्न पीडितकै हातमा पुग्ने गरि वितरण गरेको तरुण दलका उपाध्यक्ष विश्वास श्रेष्ठले बताए ।

‘पीडितले पेटभरि खान पाएका छैनन्’, श्रेष्ठले भने, ‘पीडितहरूलाई व्यस्थापन गर्न र सहायताका लागि खाद्यान्न वितरण गरेका छौँ ।’

धवलागिरी र मालिकाका पहिरोपीडितका लागि भनेर संकलन भएको राहत जिल्लामा नै थन्किएको छ ।

बिहीबार गण्डकी प्रदेश सरकारले केही रातह लगेर मराङ पुगेको थियो । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ हेलिकप्टरमा गएका थिए । तर, उनी खाली हात आएको भनेर पीडितहरू असन्तुष्ट बनेका थिए ।

तर, नेविसंघले ट्याक्टर र खच्चडमार्फत पीडितहरूलाई राहत दिएपछि पीडितहरू खुसी भएका छन् ।

मुख्यमन्त्री गुरुङसहित अनावश्यक र असम्बन्धित मानिसहरू हेलिकप्टर चढेर पहिरो प्रभावित क्षेत्रमा पुगे पनि राहत सामग्री नेपाली सेनाको अथुङ्गेस्थित ब्यारेकमा नै थन्किएको छ ।

मुख्यमन्त्री गुरुङसहितको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत राहत सामग्री लैजाने भनिए पनि राहत ब्यारेकमा नै थन्काएर पीडितसमक्ष मुख देखाउन आएको भन्दै नेकपाकै जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएका थिए ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित पहिरोबाट अति प्रभावित बिम, मराङ, ताकम र देवीस्थान जोड्ने सडक, विद्युत र सञ्चार सेवा अवरुद्ध छन् ।

सडक नभएकै कारण दाताले पीडितका लागि दिएको राहत सामग्री बेनीको जिसस भवनको गोदाममा थन्किएको छ । धेरै जना एकै ठाउँमा बसेका छन् । बसोबास पनि व्यवस्थित छैन ।

खानेपानी आयोजनामा क्षति पुगेका कारणले दुषित पानीका कारण रोग फैलने हो कि भनेर पीडितहरू सशंकित बनेका छन् ।

नेविसंघका उपाध्यक्ष झलक बिसी, तरुण उपाध्यक्ष विश्वास श्रेष्ठ, तरुण सदस्य सूर्य गर्बुजा, क्षेत्र नम्बर ‘ख’का उपसभापति मेख पुन, सचिव हीरा पुन, मालिका गाउँपालिका सभापति खिम पुन, तरुण दलका सचिव नगेन्द्र मल्ला, मराङका सभापति सानु गुरुङ, वडाध्यक्ष राजाराम सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

Published : Friday, 2020 July 17, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया