राजीनामा माग भएका बेला ओलीले अकस्मात बोलाए ठूला नेताहरू

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको राजीनामाको जोडतोडले माग भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद झन् गहिरिँदै गएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली, नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएको थियो । वार्तामा दाहाल–नेपालले ओलीलाई पुरानौ शैलीमा राजीनामा माग गरेका थिए ।

तर, ओलीले म राजीनामा दिन्न, तपाईहरूले जसरी हटाउनु हुन्छ, हटाउनुस् भनेर जवाफ दिएको स्रोतले जनाएको छ । त्यसपछि दाहाल–नेपाल बालुवाटारबाट मुख खुम्च्याउँदै बाहिरिएको थिए ।

दाहाल–नेपालसँगको वार्तापछि ओलीले आफू निकटका नेताहरूलाई बालुवाटारमा बोलाएका छन् ।

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितका स्थायी समिति सदस्यहरूलाई ओलीले बालुवाटार बोलाएका हुन् । बालुवाटारमा ओलीसहितका नेताहरूबीच भएको कुराकानीका विषयमा केही भनिएको छैन ।

यसअघि, बिहीबार ओलीसँग वार्ता गर्नुभन्दा अगाडि सचिवालयका छ जना सदस्यहरूबीच परामर्श भएको थियो । दाहाल निवास खुमलटारमा भएको छलफलका विषयमा केही भनिएको छैन ।

दाहाल–नेपालले ओलीका अभिव्यक्ति र गतिविधिहरूले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सरकारको बद्नाम भएको निस्कर्ष निकालेको स्रोतले जनाएको छ । ओलीका कारण अन्तर्राष्ट्रियसम्बन्ध विग्रिएको आरोप दाहाल–नेपालले लगाएका छन् ।

Published : Thursday, 2020 July 16, 7:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया