काठमाडौंमा कांग्रेसको शानदार प्रदर्शन, अपराधी नलुकाउन ओलीलाई डा.महतको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले संविधान र कानूनको धज्जी उडाउने कार्य गरिरहेको आरोप लगाएका छन् ।

कांग्रेस नेतृत्वको संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार काठमाडौंको नयाँ वानेश्वरमा आयोजना गरेको वृहत विरोध सभालाई सम्बोधन गर्दै डा.महतले सत्तारुढ दलका नेताहरू रुकुम पश्चिमको हत्याकाण्डलाई राजनीतिक संरक्षण दिएर दोषीलाई बचाउन खोजेको आरोप लगाए । उनले रुकुम पश्चिमको घटनाका दोषीलाई उन्मुक्ति दिन खोजिए कांग्रेसले खबरदारी गर्ने चेतावनी दिए ।

‘सरकारमा बसेका मन्त्री र नेताहरूलाई खबरदारी छ । न्याय पाउने कुरामा कुनै पनि अबरोध नआओस्’, उनले भने, ‘संविधान र कानूनलाई धज्जी उडाउने कार्य ओली सरकारबाट भइरहेको छ । त्यो कुनै पनि बहानामा स्वीकार्य छैन । त्यसको विरोध गरिरहन्छौँ ।’

कांग्रेसका सह–महामन्त्री डा.महतले रुकुम पश्चिममा भएको जनघन्य अपराधका दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरे । ‘दोषी र अपराधीलाई राजनीतिक संरक्षण गर्ने कार्य वा क्रियाकलाप कांग्रेसलाई सैह्य छैन । त्यो हुन दिँदैनौँ’, उनले भने, ‘यो २१औँ शताब्दी हो । रंग, जात, धर्मको आधारमा विभेद सैह्य हुँदैन ।’

‘जनताले बनाएको संविधानले यस्तो कार्यलाई निषेध गरेको छ’, उनले भने, ‘जातीय र छुवाछुतको आधारमा कुनै पनि सामाजिक विभेद हुनुहुँदैन ।’

नेपाली कांग्रेसले ०७ सालको प्रजातन्त्रको आन्दोलनमा दलितमाथि हुने विभेद हटाउन शुरुवातदेखिनै काम गरेको उनले बताए ।

‘०७ सालमा दुई प्रतिशत पनि साक्षरता थिएन । विभेद थियो’, उनले भने, ‘दलितमाथि हुने विभेद अब प्रजातन्त्रमा स्वीकार्य छैन । समानता र बराबरीका आधारमा शासन चलाउने भनेर काम गर्ने पार्टी कांग्रेस हो ।’

‘कांग्रेस सत्तामा आउँदा दलित आयोग होस् वा विभेदकारी कानूनी व्यवस्था समाप्त पार्नका लागि होस्, कांग्रेसले सधैँ अग्रणी भूमिका निभाएको छ ।’

कांग्रेसका सह–महामन्त्री डा.महतले सत्तामा पुग्नका लागि कम्युनिस्टहरूले विभेद, जातीयताका कुराहरू भर्‍याङका रुपमा प्रयोग गरेको आरोप लगाए ।

‘नेकपा सत्तामा छ । सत्तामा पुग्नको लागि जातीय मुद्धा, विभेदको मुद्धालाई उहाँहरूले घनघोर रुपमा प्रस्तुत गर्नुभयो’, उनले भने, ‘त्यो मुद्धा सत्तामा पुग्नको लागि हो ? रुकुम पश्चिमको यो घटनालाई ढाकछोप पार्ने कार्य तिनै नेताहरूबाट भएको छभन्ने सुन्दा दुःख लागेको छ ।’

कम्युनिस्टहरू प्रोपोगाण्डा गरेर जनतालाई झुक्याउने कार्यमा माहिर रहेको डा.महतले बताए । ‘प्रोपोगाण्डाका नाराहरू लगाएर कम्युनिस्टहरू सत्तामा पुग्नका लागि मात्रै हो भन्ने हो भने राम्रो होइन’, उनले भने, ‘कांग्रेस प्रचार गर्दैन । कांग्रेसले खुरुखुरु काम गर्ने हो । जनताले आफै बुझ्न ।’

‘कांग्रेस प्रोपोगण्डामा कमजोर छौँ । सत्तामा बसेका कम्युनिस्टहरू प्रोपोगण्डामा कुशल छन् । कालोलाई सेता बनाइदिन्छन्’, डा.महतले भनेका छन् ।

ओली सरकार कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको काण्डमा दोषी पक्राउ गर्न असफल भएको उनले आरोप लगाए ।

‘निर्मला पन्तको हत्याकाण्डको छेउटुप्पो पत्ता लागेको छैन । सत्ताधारी दलकै कारण त्यो पत्ता लागेको छैन’, डा.महतले भने, ‘सत्ताकै कारण तथ्य प्रमाण नष्ट गरेको कञ्चनपुरका जनताले भनेका छन् । अहिलेसम्म अत्तोपत्तो छैन । सरकारले गम्भीर रुपमा लिएको छैन ।’

उनले रुकुम पश्चिमको घटनामा छ जना युवाहरूको हत्या हुँदा पनि सरकारले दोषीलाई कारबाही गर्ने विषयमा गम्भीरता नदेखाएको भन्दै चिन्ता जनाएका छन् ।

‘अहिले आएर छ जना युुवाहरूको मारिएका छन् । अत्यन्तै विष्मयकारी अवस्थामा शव फेला परेको छ’, उनले भने, ‘यसलाई गम्भीर रुपमा लिनुपर्छ । अपराधीलाई कारबाही हुनुपर्छ ।’

उनले भने, ‘राज्य सत्तामा बस्नेले अपराधीलाई संरक्षण गर्नु हुँदैन । अदालतले अन्तिम न्याय दिने अन्तिम संस्था हो । अदालतले पनि त्यो गर्ने छैन ।’

सह–महामन्त्री डा.महतले दलित र कथित गैह्रदलितबीचको प्रेमसम्बन्धलाई लिएर भएको घटनाको घोरभर्त्सना गरे ।

‘हामीले गरेको विरोध कांग्रेसहितका सबै मिलेर गरेको विरोध हो । यो आन्दोलन हाम्रो हो’, उनले भने, ‘रुकुममा घटना भयो । दलित र गैह्रदलितमा प्रेम भयो । त्यसलाई रोक्नका लागि त्यो घटना भयो ।’

‘त्यसको विरोध छदैछ । यो खबरदारी विरोध पनि हो । अब त्यहाँका अपराधीलाई सजाय त हुन्छ नै’, डा.महतले भने, ‘न्याय दिने विषयमा तलमाथि गर्‍यौ भने मान्दैनौँ भन्ने सन्देश यो आन्दोलनको चेतावनी हो ।’

‘सँगसँगै अब आइन्दा यस्तो कुनै पनि जातीय विभेदका आधारमा हुने अपराधको त कुरा नै छाडौँ । जातीय विभेद हुने कुनै पनि संकेत हुनु हुँदैन’, उनले भनेका छन् ।

‘अमेरिकामा पुलिस अफिसरले कालो जाती भएकै कारणले हत्या गरेको कुरा भिडियोबाट देखिएको छ’, डा.महतले भने, ‘त्यसको संसारभरि विरोध भयो । त्यो मारिएकाले मात्रै विरोध भएको होइन । रंगभेद हुनु हुँदैन भनेर विरोध भएको छ ।’

‘अब हामीले नेपालमा पनि कुनै पनि विभेद लैङगिक, जातीय वा अरु कुनै पनि पृष्ठभूमिका आधारमा हुने विभेदहरू नेपालमा हुन दिनु हुँदैन ।’

‘दलित लाइफ म्याटर मात्रै होइन । एभ्री लाइफ म्याटर हुनु हुँदैन । हिँसाजन्य मात्रै होइन कुनै पनि सांकेतिक हिँसा पनि हुनुहुँदैन’, कांग्रेसका सह–महामन्त्री डा.महतले भने ।

‘कुनै पनि अपराध लुकाउन लोकतन्त्रका लागि लडेको होइन । कानून मिच्नेहरू अपराधी हुन्’, उनले भने, ‘कांग्रेसकै व्यक्ति भएपनि कानून मिच्ने अधिकार छैन । कारबाही हुन्छ ।’

नयाँ बानेश्वरमा भएको प्रदर्शनमा नेपाली कांग्रेसका भ्रातृ संस्थाका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद जीवन परियारको सभापतित्वमा विरोध सभा सम्पन्न भएको थियो ।

Published : Sunday, 2020 June 28, 10:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया