कांग्रेस नेता पाण्डेद्वारा ओलीको झुठको भण्डाफोर, काे हुन् नेकपामा भारतीय सुराकीहरू ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद सुरेन्द्र पाण्डेले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको पछिल्लो अभिव्यक्तिको कडा आलोचना गरेका छन् ।

कांग्रेस नेता पाण्डेले आइतबार ट्वीट गर्दै अन्धो राष्ट्रवादका नाममा ओलीले सत्ता टिकाउने खेल गरेको बताएका हुन् । उनले ओलीको सरकारलाई उनकै पार्टी नेकपाले भन्दा अरु कसैले पनि ढाल्न नसक्ने उल्लेख गरेका छन् ।

आइतबार एउटा कार्यक्रममा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ‘मलाई हटाउनका लागि भारतले होटेलदेखि दूतावाससम्म बैठक गराइरहेछ’ भनेर अभिव्यक्ति दिएका थिए । ओलीको यो अभिव्यक्तिले मुलुकमा तरंग ल्याइदिएको छ ।

‘दुनियालाई थाहा छ, अहिले सत्तारुढ दल बाहेक अरु कसैले प्रधानमन्त्री हटाउन सक्दैन’, कांग्रेस नेता पाण्डेले भनेका छन् ।

‘नेकपाभित्र भारतको इसारामा चल्ने को–को हुन् ? भन्न सक्नुपर्‍यो होइन भने अन्धो राष्ट्रवादको हाउगुजी नदेखाउनुस्’, पाण्डेले भनेका छन् ।

नेकपाभित्र भारतीय एजेन्ट र सुराकीहरू रहेकाे भनेर बेलाबेला प्रश्न उठ्ने गरेकाे छ । त्यही बेला ओलीले भारत नै प्रधानमन्त्रीबाट हटाउन लागेकाे भनेर दाबी गरेका छन् । कांग्रेस नेता पाण्डेले नेकपाका एजेन्ट र सुराकीहरूकाे नाम भन्ने ओलीसँग माग गरेका हुन् ।

नेकपाबाटै प्रधानमन्त्री पदबाट फाल्ने गृहकार्य भइरहेका बेला ओलीले भारतले आफूलाई हटाउन खोजेको आरोप लगाएका हुन् ।

ओलीको यो अभिव्यक्तिलाई सत्ता टिकाउने खेलका रुपमा नेताहरूले विश्लेषण गर्न थालेका छन् । ओलीको कम्युनिस्ट सरकार अलोकप्रिय हुनुका साथै हरेक स्थानमा असफल भइरहेको छ ।

Published : Sunday, 2020 June 28, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया