समाचारले चरित्र हत्या भयोभन्दै गुल्मीका व्यवसायीहरूद्वारा खण्डन

काठमाडौं । नेपाल निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष समेत रहेका सुनिल समिर निर्माण सेवाका नारायण पोखरेलसहितका निर्माण व्यवसायीहरूले आफूहरूविरुद्ध भ्रमक र चरित्र हत्या हुने समाचार प्रकाशित भएको भन्दै खण्डन गरेका छन् ।

सुनिल समिर निर्माण सेवाका नारायण पोखरेल, डिएनडी बिल्डर्स प्रालिका धनिश्वर गौतम, वेस्ट्रन पपुलर कन्ट्रक्सनका गगन केसी, गगन लक्ष्मी निर्माण सेवाका जीवन थापा र गुल्मी जिप व्यवसायी समितिका रुपकलाल श्रेष्ठले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर समाचारको खण्डन गरेका हुन् ।

‘जेठ ५ गतेका दिन रिपब्लिका दैनिकमा ‘लकडाउनमा गुल्मीमा एसपी र ठेकेदारहरूबीच हिमचिम, डीआईजीलाई खुवाउन कालो रक्सीको माग’ भन्ने शीर्षकमा आएको समाचारप्रति हामीहरूको गम्भीर ध्यानाकर्षण रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘उक्त समाचारमा नभएका काल्पनिक कुराहरू उल्लेख गरी सामाजिक सञ्जालमा प्रकाशित गरेको उक्त समाचारले हाम्रो व्यवसायिक मान ईज्जत प्रतिष्ठामा आँच आएको छ’, उनीहरूले भनेका छन् ।

समाचारमा देखिए बमोजिम गुल्मी जिल्लाका प्रमुख र हामीहरूलाई जोडी तथ्यहीन झुट्टा र काल्पनिक समाचार प्रकाशित भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त झुटो समाचारप्रति खेद प्रकट गर्दछौँ ।’

उनीहरूले भनेका छन्, ‘यसरी नभएको काल्पनिक कुराहरू उल्लेख गरी सामाजिक सञ्जालमा प्रकाशित गरी हाम्रो कम्पनी र हामीहरूको समेत मानहानी हुने गरी बद्नियत पूर्वक समाचार लेखिएको छ ।’

Published : Saturday, 2020 May 23, 7:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया