कांग्रेसका खतिवडा भन्छन्, ‘मोदीलाई जन्मदिनको शुभकामना दिने ओलीले वार्ता गर्न किन डराएकाे ?’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले संसददेखि सबै दलहरूको दवावमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले नयाँ नक्सा जारी गरेको बताएका छन् ।

‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रममा नेता खतिवडाले संसद र दलहरूको दवावमा ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी भएको बताए ।

‘भारतले हाम्रो भूमि अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेपछि छ महिना अगाडि बालुवाटारमा सर्वदलीय बैठक बसेको थियो’, उनले भने, ‘त्यो बैठकमा कांग्रेसले भारतसँग कुटनैतिक सम्वाद गरेर भूमि फिर्ता ल्याउन र नेपालको नयाँ नक्सा जारी गर्न आग्रह गरेको थियो ।’

खतिवडाले ०२९ सालसम्म लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित पाठ्यपुस्तकमा नेपालका नक्सामा थियो’, उनले भने, ‘अहिले नयाँ नक्सा आएको छ । अब कुटनैतिक वार्ता गरौँ । अतिक्रमित भूमिबाट भारतीय सेना फिर्ता गराऔँ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा फोन गरेर शुभकामना दिने खड्गप्रसाद ओलीले नेपाली भूमि अतिक्रमण गरेर नयाँ नक्सा जारी गर्दा पनि मोदीसँग कुरा गर्न नसकेको आरोप खतिवडाले लगाए ।

छ महिनासम्म चुप लागेर बसेका प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट बोल्न लगाएर नयाँ नक्सा जारी गरिएको खतिवडाले बताएका छन् ।

‘राष्ट्रवादी कुरा गर्ने ओलीजी संसदमा पटट बोलेर जानुभयो । नक्सा त प्रेसमा छापे भइहाल्छ नि पनि भन्नुभयो । जनकपुरमा मोदीले जस्तै एउटै ड्रेस लगाएर जानुभयो’, खतिवडाले भने, ‘ओलीजीको राष्ट्रवादी त देखिएको छ । कांग्रेसको सरकार रहँदासम्म भारतले नेपाली भूमिमा सडक खनेको थिएन । ओली प्रधानमन्त्री हुँदा भारतले नेपाली भूमिमा सडक खनेको छ । भारतले सडक खन्दा मैले थाहा पाइन् भन्नुभयो ।’

‘ओलीजी गृह मन्त्री, परराष्ट्र मन्त्री, प्रधानमन्त्री हुनुभयो । मंसिरमा छ महिना अगाडि भारतले नयाँ नक्सा जारी ग¥यो’, उनले भने, ‘ओलीजीले नेपाली अतिक्रमित भूमिफिर्ता ल्याउन भारतसँग कुरा गर्नुभएन ।’

‘भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा राखेर नयाँ नक्सा ओलीले मात्रै ल्याउन सक्नुभएको होइन’, उनले भने, ‘ओलीजीले नयाँ नक्सा प्रेसमा छापे भइहाल्यो समेत भन्नुभयो । बोल्ने मात्रै होइन, व्यवहारमा ओलीले काम गर्नुपर्छ ।’

‘ओलीजी राष्ट्रवादी हो कि होइन पछि खोजौँला । सारा नेपाली जनता र दलहरूको दवावपछि बल्ल नयाँ नक्सा जारी भएको हो’, खतिवडाले भने, ‘सिमानका बारेमा भारतीय सेना बोल्यो । त्यसपछि हाम्रो प्रधानमन्त्री संसदमा गएर बोल्नुभयो । यो गम्भीर विषय हो ।’

‘भारतको नुन खाने नेपाली नेताहरू सबै पार्टीमा छन् । उनीहरूकै कारण देशमा समस्या भएको छ’, कांग्रेस नेता खतिवडाले भने, ‘बिक्रम संवत ०२८ सालमा छोराले नागरिकता लिएर उनको बुबाले ०३२ सालमा नागरिकता लिएर ठूलो पद र मन्त्रीसम्म बन्न पुगेको छ ।’

खतिवडाले नेपाल र भारतबीच कुटनैतिक सम्वाद गरेर अतिक्रमित भूमि फिर्ता ल्याउन पहल गर्नुपर्ने बताए । उनले भने, ‘भारत र चीनलाई चिढ्याउन हुँदैन ।’

‘बेलुका ह्वीस्की खान भारतीय राजदूतावास लैनचौरमा जाने अनि बाहिर आएर भारतीय विस्तारबाद मुर्दाबादको नारा लगाउने नेताहरू पनि नेपालमा धेरै छन्’, उनले भने, ‘भारतीय राजदूतावासभित्र सात पटकसम्म गएको कसैले देखेन, आठौँ पटक एम्बुसमा परे भन्ने नेताहरूले मिडियामा बोलेको हामीले देखेका छौँ ।’

‘ओलीले भन्दा धेरै ठूलो राष्ट्रवादी भाषण भीम रावलले गर्नु हुन्छ । रावलजी नै गृहमन्त्री र रक्षामन्त्री भएको होइन ?’, उनले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला पजेरो फिर्ता गर्नभन्दा भीम रावलले गाडी त्रिशूलीमा बगाइदिन्छु भनेका पनि हामीलाई थाहा छ ।’

कांग्रेस नेता खतिवडाले प्रधानमन्त्री ओलीजीलाई भारतसँग गम्भीर भएर कुटनैतिक सम्वाद गर्न भनेका छन् । उनले भारतसँगको सम्बन्ध नबिर्गान आग्रह गरेका छन् ।

‘भारतसँग सहयोग लिने, अनि बाहिर आएर कुर्लने काम गर्ने होइन । ओलीले क्रान्तिका कुरा गर्नुभयो । अब व्यवहारमा काम गर्नुपर्छ’, उनले भने, ‘सरकारलाई राष्ट्रियताको कुरामा कांग्रेसले साथ दिएको छ । कुटनैतिक सम्वाद गर्न ढिलाइ नगरौँ ।’

Published : Saturday, 2020 May 23, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया