कांग्रेस नेता खाँणद्वारा चौधरीको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पूर्वसांसद दुर्योधन सिंह चौधरीको निधनले स्तब्ध तुल्याएको बताएका छन् ।

प्रमुख सचेतक खाँणले शुक्रबार शोक विज्ञप्ति जारी गरेर चौधरीको असामयिक निधनले पार्टीलाई गम्भीर क्षति भएको जनाएका हुन् ।

कांग्रेसका नेता समेत रहेका पूर्व राज्यमन्त्री एवं पूर्व सांसद ७० वर्षीय दुर्योधन सिंह चौधरीको शुक्रबार बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारको क्रममा भएको असामयिक निधन भएको छ ।

स्व. चौधरी वि.स. २०४८, २०५१ र २०५६ गरी तीन पटक रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको उम्मेदवार भई प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका थिए ।

वि.स. २०५१ सालको निर्वाचनमा निर्वाचित भई उनले महिला तथा समाज कल्याण तत्पश्चात आपूर्ति सहायकमन्त्री र २०५६ मा निर्वाचित हुनु भई स्थानीय विकास राज्यमन्त्रीको जिम्मेवारी वहन गरेका थिए ।

‘नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएका स्व. चौधरी नेपाली राजनीतिमा सरल र शान्त व्यक्तित्वको रुपमा परिचित हुनुहुन्थ्यो’, खाँणले भनेका छन् ।

‘नेपाली कांग्रेसको विभिन्न तहमा रहेर संगठन विस्तार, सुदृढीकरण तथा पार्टीलाई गतिशील बनाउन सदैव क्रियाशील रहनु भएका चौधरीको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ’, खाँणले भनेका छन् ।

‘उहाँको निधनप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै शोकको यस घडीमा उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजन प्रति हार्दिक समवेदना प्रकट गर्दछ’, शोक वक्तव्यमा भनिएको छ ।

Published : Friday, 2020 May 22, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया