आयोगको सिफारिसमा ईदमा सार्वजनिक विदा, अध्यक्षले दिए शुभकामना

काठमाडौं । मुस्लिम आयोगको आग्रह र सिफारिसअनुसार नेपाल सरकारले ईद पर्वका अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ईदका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिए । मुस्लिम धर्म गुरुहरूको आग्रहमा आइतबार वा सोमबारमध्य एक दिन सार्वजनिक विदा हुनेछ ।

मुस्लिम समुदायहरूले ईद पर्व आइतबार मनाउँदै छन् । सो दिन सरकारले सार्वजनिक विदा दिने जनाएको छ । ‘आयोगको आग्रह र सिफारिसमा ईदको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारलाई धन्यावाद’, उनले भने, ‘आइतबार ईद मनाइँदै छ । सामाजिक दुरी बनाएर पर्व मनाउन अपील गर्दछु ।’

यसैवीच, आयोगका अध्यक्ष अन्सारीले ईदका अवसरमा शुभकामना दिएका छन् । उनले सामाजिक दुरी कायम गरी ईद पर्व मनाउन सबै मुस्लिम समुदायलाई अपस्ल गरेका छन् । उनले देश विदेश सबैतिर बसेका नेपाली मुस्लिमहरूलाई शुभकामना दिएका छन् ।

‘मुस्लिम समुदायबाट केही द्विविधा भएको भनि जिज्ञासा राखेको सन्दर्भमा सामाजिक दुरी कायम गरी साविक देखिनै दैनिक रुपमा मस्जिदमा पाँच टाइमको नमाज, जुम्मा नमाज, तराहवी नमाज ५ जनासम्मले पढ्दै आइरहनु भएकोमा लकडाउनसम्म सोही संख्या यथावत् भएको र ईदको नमाज पनि ५ जनासम्मले मस्जिदका पदाधिकारीहरूको सल्लाह बमोजिम अन्य सबै आ–आफ्नो तरिका अनुसार घरमै बसी नमाज पढी ईद मनाउन सम्बन्धित सबैमा अनुरोध गर्दछु’, अध्यक्ष अन्सारीले भनेका छन् ।

‘कोरोना भाइरसबाट जोगिन अल्लाहसँग दुवा गर्दै नेपाली राष्ट्रिय एकता, अखण्डता, अझ मजबुद बनोस्’, उनले भनेका छन्, ‘राष्ट्र निर्माण तथा विकासको मार्गमा अघि बढोस् र समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना सकार होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।’

Published : Friday, 2020 May 22, 5:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया