बाटो खोल्न दार्चुलाको घाटीबगरमा नेपाली सेना झर्‍यो

प्रकाशचन्द्र भट्ट

दार्चुला । महाकाली करिडोरअन्तर्गत दार्चुला तिंकर सडक खण्डको ८७ किलोमिटर ट्रयाक खोल्ने कार्य शुरू हुने भएको छ ।

वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले सडकको कूल १३४ किलो मिटरमध्ये ८७ किलो मिटर सडक खण्डको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिने निर्णयअनुसार उक्त घोरेटो बाटोको ट्रयाक खोल्ने कार्य शुरु गरिने दुर्गादल गुल्म दार्चुलाका गुल्मपति श्यामराजाविक्रम थापाले जानकारी दिए ।

बिहीबार नेपाली सेनाको टोली व्याँस गाउँपालिका २ घाँटीबगरमा पुगेको छ । घाँटीबगरमा ४५० मिटर गोरेटो बाटो निर्माण कार्य सेनाले गर्ने उनले बताए ।

निर्माण कार्यको लागि दक्ष प्राविधिक जनशक्ति खटिइसकेको उनले जानकारी दिए । थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक उपकरण एवं अन्य सामग्रीहरू हेलिकप्टरमार्फत ओसारपसार भइरहेको छ ।

सरकारको निर्णय बमोजिम महाकाली करिडोर (दार्चुला टिंकर सड्क योजना) अन्तर्गत ८७ किलोमिटर सडकखण्ड नेपाली सेनामार्फत निर्माण गराउने निर्णय भएको हो ।

जिल्ला सदरमुकाम खलंगाबाट व्याँस क्षेत्र जान व्याँस गाउँपालिका २ मा पर्ने मौरीभिरमा कडा चट्टानी भाग र घाँटीबगर भन्ने स्थानमा पहिरो समेत गएकोले व्यासीहरू भारतीय बाटो प्रयोग गर्न बाध्य छन् ।

व्यासीहरूको समस्यालाई ध्यानमा राखेर सेनाले तत्काल ट्रयाक खोल्न पहल गरेको हो । उक्त बाटो सुचारु भएपश्चात स्थानीय बासिन्दा नेपालकै भूमि प्रयोग गरी आवत जावत गर्न सक्नेछन् ।

आर्थिक वर्ष ०६५–६६ बाट निर्माण शुरु भएको यस सडकको काम लामो समयदेखि सम्पन्न हुन सकेको छैन् । समयमै निर्माण कार्य सम्पन्न हुन नसक्दा बेलाबेला यसको ठेक्का नेपाली सेनालाई दिने कुराहरू उठेका थिए ।

यो सडक खण्डमा हालसम्म ४० किलोमिटर सडक खण्डमा मात्रै साधारण बाटो खुला गरिएको छ । दशकौ देखी कछुवा गतिमा निर्माण कार्य भइरहेको उक्त सडक खण्डको जिम्मेवारी पछिल्लो समय नेपाली सेनाले पाएपछि स्थानियबासी खुसी भएका छन् ।

घोरेटो बाटो सुचारु भएपछि व्याँसका स्थानीयहरूलाई नेपालकै बाटो प्रयोग गरेर आफ्नो बन्दोबस्तीका सामान ढुवानी गर्न समेत सहज हुनेछ ।

Published : Friday, 2020 May 22, 11:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया