अपाङ्गता र विधवाकाे भत्ता होइन, ओलीको सचिवालयको खर्च काटौँः तरुण उपाध्यक्ष

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले अपाङ्गता भएका र ६० वर्षमुनिका एकल महिला (विधवा)लाई सामाजिक सुरक्षा भत्ता काटौति गरेकोमा विरोध जनाएका छन् ।

उपाध्यक्ष चापागाइँले बिहीबार प्रेस नोट जारी गरेर कोरोना भाइरस र लकडाउनले समस्यामा रहेका बेला सामाजिक सुरक्षा भत्ता कटौति गर्ने कार्य आपत्तिजनक रहेको बताए ।

उनले कटौति भएको सुरक्षा भत्ता अपाङ्गता भएका र विधवालाई दिइनुपर्ने माग गरे । ‘चुनावको बेला पाँच हजार रुपियाँ घरघरमा ल्याएर हातहात दिनेछु भन्ने’, उनले भने, ‘यो सरकारले घरमा सामाजिक सुरक्षा भत्ता काटेको छ । यो कार्यको भर्त्सना गर्दछु ।’

समस्यामा परेकाहरूको भत्ता काट्न नहुने उनले बताए । ‘मन्त्री, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र उच्च तहका व्यक्तिहरूको खर्च काटेर भए पनि सामाजिक सुरक्षा भत्ता दिनुपर्छ’, उनले भने, ‘चुनावको बेला बोलेको कुराबाट पछाडि हट्ने कार्य गम्भीर छ ।’

उपाध्यक्ष चापागाइँले सुकुम्बासी आयोगसहितका राजनीतिक नियुक्ति गरेर करोडौँ रुपियाँ खर्च गर्ने कम्युनिस्ट सरकारले अपाङ्गता भएका र विधवाको भत्ता काट्ने कार्यले प्रधानमन्त्री खड्गप्रसाद ओलीको बास्तविकता उदाङ्गो भएको बताए ।

प्रधानमन्त्री ओलीले दुई दर्जन बढी सहयोगी र सल्लाहकार राखेको भन्दै सरकारलाई फजुल खर्च कटाएर भएपनि भत्ता दिनुपर्ने बताए ।

स्वास्थ्य सामग्री खरिद, वाइडबडी काण्ड, सेक्युरिटी प्रिन्टिङ कमिशन, सुन काण्डलगायतका भ्रष्टाचारमा सरकार डुबेको भन्दै उनले भने, ‘सत्तामा बसेकाहरू सुविधामा बसेका छन् । अपाङ्गता भएका र विधवाको भत्ता काटेर अन्याय गरिन्छ । यो गम्भीर विषय हो ।’

निर्वाचनका बेला ओलीले सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याएर घरघरमै ल्याएर खनखनी दिने भनेका थिए । तर, ओलीकै सरकारले अपाङ्गता र ६० वर्षमुनिका एकल (विधवा) भत्ता काटिदिएको छ ।

Published : Thursday, 2020 May 21, 2:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया