विदेशमा संकटमा परेकालाई नेपाल फर्काउन उद्धार गरौँः एनआरएनए

न्युयोर्क । गैरआवासीय नेपाल संघ (एनआरएनए)की उपाध्यक्ष रविना थापा र महिला विभागकी संयोजक भूमा लिम्बुले कोरोनाभाइरसको संक्रमण र लकडाउनले विश्वभरि रहेका नेपालीहरुरूको दैनिकीमा धेरै समस्याहरू आइरहेको बताएका छन् ।

थापा र लिम्बुले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर आधिकारिक कागजातविना विभिन्न कामकोे शिलशिलामा प्रवासमा रहेका दाजुभाइ दिदीबहिनी र अध्ययनका रहेका विद्यार्थीलाई कोरोनाभाइरसको तुलनात्मक रुपमा निकै बढी समस्या परेको जनाएका हुन् ।

‘त्यसबाहेक स्थापित रुपमा अरु देशमा बसिरहनुभएकाहरुलाई पनि समस्या भैहरेको खबर हामीले सुनिरहेका छौं’, विज्ञप्तिमा भनिएको छ, ‘डिपेन्डेण्ट भई विदेश आउनुभएका परिवारका सदस्यहरू, भिजिट भिषामा आएर रोकिनुभएकाहरूलाई पनि समस्या परिरहेको छ’, थापा र लिम्बुले भनेका छन् ।

‘विभिन्न देशमा अहिले पनि लकडाउन यथावत छ’, उनीहरूले भनेका छन्, ‘जसका कारण दैनिक जीवनयापन कष्टकर बन्दै गएको छ ।’

यसै सन्दर्भमा गैरआवासीय नेपाली संघअन्तर्गत महिला विभागको भर्चुअल प्रविधिार्फत पहिलो बैठक सम्पन्न भएको उनीहरूले जनाएका छन् ।

बैठकका सहभागीहरूको सुझावका आधारमा विश्वभर रहेका नेपालीहरू जो नेपाल फर्किन चाहन्छन् उनीहरुलाई जतिसक्दो छिटो आफ्नो देश फर्काउने वातावरण बनाउन गैर आवासीय नेपाली संघ, महिला विभाग नेपाल सरकारसँग जोडदार माग गरेको थापा र लिम्बुले जनाएका छन् ।

‘नेपाल फर्कन चाहनेले संक्रमण भित्रउछन् कि भन्ने शंका रहनु स्वभाविक हो’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालका हाल बन्द रहेका होटलहरूलाई क्वारेन्टाइनमा प्रयोग गरि फर्केका नेपालीलाई राख्न सकिने हुँदा स्वास्थ्य जाँच गराएर आफ्ना नागरिक फर्काउन एनआरएनएमार्फत नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’

‘विभिन्न देशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई दैनिक जीवनयापनमा समस्या भए एनसीसीसँगको समन्वयमा उनीहरूलाई राहत उपलब्ध गराउन आइसीसीसँग आग्रह पनि गर्दछौं’, उनीहरूले भनेका छन् ।

‘यस घडीमा कोभिडविरुद्ध जुध्न संसारभर रहेका महिला संयोजकहरूलाई तयारी अवस्थामा रहन आह्वान गर्दछौं’, उनीहरूले भनेका छन् ।

‘नेपालीहरूलाई परेको समस्या तत्काल रिपोर्टिङ गर्न र सहयोगको वातावरण मिलाउन पनि हार्दिक अपील गर्दछौं’, उनीहरूले भनेका छन् ।

Published : Wednesday, 2020 May 6, 12:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया