लकडाउनका बेला ललितपुरमा ठूला ठेकेदारका टिप्परमा तोडफोड

ललितपुर । लकडाउनका बेला ललितपुर जिल्लाको बुङ्गमतीमा निर्माण सामग्री बोकेका टिप्परहरूमा तोडफोड भएको छ ।

सोमबार राति बुङ्गमतीमा स्थानीय टिप्पर व्यवसायीले तोडफोड गरेको महानरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

स्थानीय व्यवसायीबीच आपसी मनमुटाबका कारण तोडफोड भएको बताइएको छ ।

नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका लागि भन्दै निर्माण सामग्री बोक्न छुटपछि आक्रोषित स्थानीय ट्रक व्यवसायीहरूले ती टिप्परहरूलाई तोडफोड गरेको जनाइएको छ ।

ती टिप्परले ललितपुरको फर्सिडोलबाट निर्माण सामग्री बोकेका थिए ।

महानगरीय प्रहरी परिसर ललितपुरका सहप्रवक्ता डीएसपी सन्तोष तामाङका अनुसार एयरपोर्ट निर्माणका लागि कालिका, एवान र टिन्डी जेवीको १५ वटा टिप्पर स्थानीय व्यवसायीहरूले तोडफोड गरेको बताए ।

डीएसपी तामाङले मादक पदार्थ सेव गरेका स्थानीय व्यक्तिले तोडफोड गर्दा टिप्परको सिसा, हेडलाइट फुटेको बताए ।

प्रहरी कार्यालयमा उजुरी परेको तामाङले बताएका छन् । तोडफोड गर्ने व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार स्थानीय टिप्पर व्यवसायीहरूलाई रोडा, ढुंगा र बालुवाहरू बोक्न नदिएर ठूला ठेकेदारहरूलाई मात्रै छुट दिएपछि रिसाएका उनीहरूले तोडफोड गरेको जनाइएको छ ।

Published : Wednesday, 2020 May 6, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया