बनारसमा २५ जना नेपाली संकटमा, उद्धार गर्न अपील

काठमाडौं । लकडाउनका कारण भारतको बनारसमा अलपत्र परेका २५ जना नेपाली युवाहरूले उद्धारका लागि नेपाल सरकारसँग अपील गरेका छन् ।

लकडाउन शुरु भएपछि बनारसबाट हिँडेर नेपाल आउन थालेका ती युवाहरूलाई बनारसको पुलिसले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको ती नेपाली युवाहरूले बताएका छन् ।

भिडियोमा देखिएका सुशील भन्ने युवकले आफूहरूलाई उद्धार गर्न पटक–पटक अपील गरेका छन् ।

बनासरको प्रहरीले नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओलीकै आग्रहमा नेपाल आउन नदिएको उनीहरूले भिडियोमा जनाएका छन् ।

‘हामी २५ जना नेपाली युवा छौँ । तपाईहरूको सरकारले छाड्ने आदेश दिएको छैन’, भिडियोमा देखिएका युवाले भनेका छन्, ‘खानको राम्रो व्यवस्था छैन । कोरोनाको लक्षण देखिएको पनि छैन । हामीलाई नेपाल लैजान उद्धार गरियोस् ।’

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले चीनमा रहेका नेपालीहरूलाई निःशुल्क रुपमा विमान पठाएर उद्धार गरी क्वारेन्टाइनमा राखेर घर पठाएको थियो ।

तर, भारतमा समस्यामा परेका गरिव जनताको उद्धारमा कम्युनिस्ट सरकारले चासो नदेखाएको भन्दै आलोचना हुँदै आएको छ ।

Published : Sunday, 2020 May 3, 4:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया