पूर्वआईजीपी र सांसदविरुद्ध सांसद अपहरणको अभियोगमा प्रहरीमा उजुरी दिइने

काठमाडौं । प्रतिनिधि सभाका सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गरेको अभियोगमा समाजवादी नेपालका नेताहरूले अपहरणमा संलग्नहरूविरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेको छ ।

स्रोतका अनुसार समाजवादी पार्टीका नेताहरूले आफ्ना सांसद डा.यादवलाई अपहरण गरेको अभियोगमा नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दिन लागिएको छ ।

जाहेरी दिन समाजवादी पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादव काठमाडौं प्रहरीको कार्यालय टेकु जान लागेको स्रोतले बताएको छ ।

खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद डा.यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याइपुर्‍याएका थिए ।

नेपाल प्रहरीका पूर्वआइजीपी खनाल र पूर्वमन्त्री समेत रहेका नेकपाका सांसद बस्नेतले भने आफूहरूले डा.यादवलाई अपहरण गरेको नभई उनकै योजनाअनुसार काठमाडौं आउन सहजीकरण गरेको दाबी गरेका छन् ।

समाजवादी फुटाउने योजनासहित जनकपुरबाट काठमाडौं ल्याइएका सांसद डा.यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको थियो ।

बिहीबार बिहान मेरियट होटलबाट सांसद डा.यादव फुत्किएका थिए ।

Published : Sunday, 2020 April 26, 1:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया