वीरगञ्जमा र्‍यापिड टेस्टमा कोरोना एन्टिबडी देखिएकी युवतीको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा कोरोना भाइरसविरूद्धको एन्टिबडी देखिएकी २३ वर्षीया युवतीको मृत्यु भएको छ ।

ती युवतीलाई र्‍यापिड डाइग्नोस्टिक टेस्टमा तीन पटक एन्टिबडी देखिएको थियो ।

उनलाई नारायणी अस्पतालको आइसोलेसनमा राख्ने तयारी गर्दैगर्दा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले जानकारी दिएका छन् ।

ती युवतीको स्वाबलाई पीसीआर परीक्षण गर्न हेटौंडा प्रयोगशाला पठाइएको छ ।

डा.उपाध्यायले युवतीको के कारणले मृत्यु भएको हो सोबारेमा अहिले नै केही भन्ने स्थिति नरहेको बताएका छन् ।

मृतक युवती केही महिनादेखि ब्लड क्यान्सरको बिरामी थिइन् ।

उनी वैशाख ४ गते चितवनको भरतपुर अस्पतालमा भर्ना भएर ९ गते डिस्चार्ज्ड भएकी थिइन् ।

युवतीलाई एक–दुई दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि परिवारले वीरगञ्जकै केही अस्पताल लगेका थिए ।

उनलाई नारायणी उपक्षेत्रीय अस्पतालबाट डा.नीरा पाठकको टोली गएर अर्को र्‍यापिड टेस्ट गर्दा पनि पोजेटिभ देखिएको थियो ।

उनलाई त्यसपछि नारायणी अस्पताल लगिएको थियो ।

Published : Sunday, 2020 April 26, 1:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया