पर्सामा वडाध्यक्षका पतिले राहतको दश लिटर तेल गायब बनाएपछि हँगामा

कृष्णा यादब

वीरगञ्ज । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवामा रहेका मजदुर र अति विपन्न परिवारका लागि आएको राहतमा वडाध्यक्षका पतिले हिनामिना गरेपछि स्थानीय पीडितहरूले विरोध गरेका छन् ।

विरोध भएपछि राहत बितरण कार्यक्रम स्थगित भएको छ । बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवामा रहेका १ सय ३५ जना अति विपन्न र मजदुरहरूलाई सूची सर्वदलीय समितिले बनाएको थियो ।

उनीहरूलाई बिहीबार राहत वितरण गर्न बनाइएका पोकाहरू साना र ठूला रहेपछि स्थानीयले विरोध गरेका हुन् ।

बिरोध भएपछि राहत वितरणको कार्य स्थगित भएको छ । पोकाहरूमा कुनैमा तेल थिएन । कुनैमा दाल छैन ।

राहत वितरणका लागि बनाइएको पोकाहरूमा असमानता गरिएपछि आफूहरूले विरोध गरेको स्थानीय जयप्रकाश चौरसियाले बताए ।

गाउँपालिकाबाट वडा नम्बर ३ का वडाध्यक्ष सलमा खातुनका श्रीमान् हनिफ अन्सारीले १० लिटर तेल सुटुक्क घर लगेपछि राहत सामग्रीको पोकामा भेदभाव भएको चौरसियाले बताए ।

अति विपन्न र मजदुरहरूलाई वितरण गर्न ल्याइएको राहत सामग्री वडाध्यक्षका पतिले गायब बनाएपछि स्थानीयहरू आक्रोशित बनेका छन् ।

सो गाउँपालिकाका प्रशासकीय अधिकृतको मोबाइल अफ रहेका कारण सम्पर्क हुन सकेन ।

Published : Thursday, 2020 April 23, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया