अध्यादेश ल्याएर ओलीजीले दलहरूलाई चिढ्याउने काम गर्नुभयोः तरुण उपाध्यक्ष

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले कोरोना भाइरसको संक्रमणका बेला मिलेर सामना गर्ने बेला झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले विपक्षमा रहेका दलहरूलाई चिढ्याउने गरेर गतिविधि गरेको आरोप लगाएका छन् ।

रिपब्लिका दैनिकसँग कुरा गर्दै उपाध्यक्ष चापागाइँले दुई वटा अध्यादेशले सरकारको अधिनायकवादी चरित्र उदाङ्गो भएको बताए । उनले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेशले मुलुकलाई द्वन्द्वतर्फ लगेको बताए ।

आफ्नै दलका नेताहरूले विरोध गरेको ती दुई अध्यादेशलाई फिर्ता लिएर राजनीतिक सहमति र सहकार्यको मार्गमा हिँड्न प्रधानमन्त्री ओलीलाई उनले सल्लाह दिएका छन् ।

सरकार लकडाउनमा रहेका जनताको समस्या समाधानमा असफल हुँदै गएको भन्दै चापागाइँले समस्यामा परेका जनताको उद्धारमा खटिन अपील गरे । उनले कोरोना भाइरसको संक्रमण रोकथामका लागि मिलेर काम गर्नुपर्ने बताए ।

स्वास्थ्य सामग्री खरिदमा ठूलो घोटाला भएको भन्दै उनले दोषीहरूलाई छानविनको दायरामा ल्याउन माग गरे । उनले अनियमितता र भ्रष्टाचारमा संलग्नहरूलाई उन्मुक्ति दिन नहुने बताएका छन् ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपाली कांग्रेसले सम्पूर्ण सहयोग गरेका बेला सरकार जनताको जीवनको रक्षा गर्नुभन्दा पनि पार्टी विभाजन र संवैधानिक निकायहरूलाई त्रासमा राख्न खोजेको उनले आरोप लगाए ।

Published : Thursday, 2020 April 23, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया