कांग्रेसले दियो नयाँ दल ‘जनता समाजवादी पार्टी’लाई बधाई

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीवीच एकीकरण भएर ‘जनता समाजवादी पार्टी’ गठन भएकोमा बधाई दिएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका दुई राजनीतिक दलहरूवीच पार्टी एकीकरण भएकोमा बधाइ दिएका हुन् ।

‘समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी’बीच एकता भएर जनता समाजवादी पार्टी बनेकोमा म खुशी व्यक्त गर्दछु’, सभापति देउवाले भनेका छन् ।

‘दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलार्ई मजवुत बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु’, देउवाले भनेका छन् ।

‘नवगठित ‘जनता समाजवादी पार्टी’का नेतृत्व तथा सो पार्टीसँग आवद्ध सबैमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु’, नेपाली कांग्रेसका सभापति देउवाले भनेका छन् ।

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले समाजवादी पार्टी फुटाउनका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेर पार्टी फुटाउन खोजेको आरोप समाजवादी पार्टीका नेताहरूको रहेको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओली नै समाजवादी पार्टी फुटाउन सक्रिय भएका बेला राजपा र समाजवादी पार्टी बुधबार राति पार्टी एकीकरण गरि पार्टी विभाजन रोकिएको थियो ।

Published : Thursday, 2020 April 23, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया