सरकारको आलोचना गरेकै कारण पक्राउ परेका उपाध्यायलाई रिहाइ गरः कांग्रेस नेता लामा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायको विना सर्त रिहाइको माग गरेका छन् ।

प्रतिनिधि सभामा कांग्रेसका सांसद समेत रहेका नेता लामाले बिहीबार विज्ञप्ति जारी गरेर पक्राउ परेका उपाध्यायलाई रिहाइ गर्न माग गरेका हुन् ।

सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएर प्रहरीले उपाध्यायलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको थियो ।

उपाध्यायलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको सांसद लामाले जनाएका छन् ।

‘नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको छ’, कांग्रेसका केन्द्रीय सदस्य लामाले भनेका छन् ।

‘सबै नेपालीले आफ्नो विचार राख्न पाउनु नैसर्गिक अधिकार हो’, उनले भने, ‘संविधानले दिएको स्वतन्त्रताको हकलाई वर्तमान सरकारले सयम–सयममा कुण्ठित गर्ने कार्य गर्दै आइरहेको छ ।’

‘राज्यका सबै अंग र प्रत्येक नेपालीले संविधानको पूर्ण पालना गरी यसको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो’, उनले भने, ‘यसको ठीक विपरित वर्तमान सरकारले दिनप्रतिदिन संविधानको ठाडो उल्लंघन गर्दै आइरहेको छ ।’

सरकारको यस किसिमका गैरजिम्मेवारी कार्यप्रति गम्भीर आपत्ति प्रकट गर्दै घोर भर्त्सना गरिएको सांसद लामाले जनाएका छन् ।

उनले भने, ‘पूर्वसचिवको पक्राउ संविधानको मर्म भावना विपरित रहेकोले निजलाई विनासर्त तत्काल रिहा गर्न नेपाल सरकार र सम्बन्धित निकायलाई जोडदार माग गर्दछु ।’

‘आमनागरिकको स्वतन्त्र विचार र अभिव्यक्तिहरूलाई दबाउने कार्यलाई रोक्न सरकारलाई चेतावनी दिन चाहन्छु’, सांसद लामाले भनेका छन् ।

Published : Thursday, 2020 April 23, 5:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया