कांग्रेसका खतिवडा भन्छन्, ‘सांसद अपहरण गर्नेलाई कारबाही र उपाध्यायलाई रिहाइ गर’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले सत्तारुढ दलका सांसद र नेपाल प्रहरीको पूर्वआईजीपी सांसद अपहरण कार्यमा संलग्न हुनु दुखद् कार्य भएको बताएका छन् ।

बिहीबार प्रेस नोट जारी गरेर पूर्वसांसद समेत रहेका खतिवडाले सांसद अपहरण कार्यमा संलग्नहरूलाई कारबाहीको माग गरेका छन् । सत्तारुढ दलकै सांसद र पूर्वआईजीपी नै सांसद अहपरणमा संलग्न हुनु भनेको लोकतन्त्र दिवसका दिन लज्जाजनक कार्य भएको उनले बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई कारबाही गर्न उनले सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।

समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई महोत्तरीस्थित घरमा सँगै खाना खाएर काठमाडौं ल्याएर आएको नेकपाका सांसद बस्नेत र पूर्वआईजीपी खनालले आफ्ना अन्तर्वार्ताहरूमा स्वीकार गरिसकेका छन् ।

उनीहरूले सांसद डा.यादवलाई अपहरण नगरेको दाबी गरेका छन् । तर, समाजवादी पार्टीले आफ्नो सांसद डा.यादवलाई अहरण गरेको आरोप लगाउँदै आएको छ ।

यसैवीच, नेपाली कांग्रेसका युवा नेता खतिवडाले नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलाई सामाजिक सञ्जालमा लेखेकै भरमा पक्राउ गरेर थुनामा राखिएको भन्दै आक्रोश पोखेका छन् ।

लोकतन्त्र दिवस मनाउँदै गर्दा सामाजिक सञ्जालमा लेखेकै भरमा उपाध्यायलाई पक्राउ गरेर मुद्धा चलाएको भन्दै खतिवडाले आपत्ति जनाएका हुन् ।

‘हामीले कस्तो लोकतन्त्र ल्याएका हौँ । सामाजिक सञ्जालमा लेखेकै भरमा पक्राउ पर्नुपर्ने ? कस्तो राजनीतिक दललाई मतदान गरेर सत्तामा पुर्‍याएका रहेछौँ । यही गर्नका लागि हो ?’, खतिवडाले प्रश्न गर्दै भनेका छन्, ‘तत्काल भीम उपाध्यायलाई विनासर्त रिहाइ गरियोस् । होइन भने सरकारले यसको मूल्य चुकाउनुपर्नेछ ।’

उपाध्यायलाई प्रहरीले ललितपुरबाट पक्राउ गरी थुनामा राखेको छ । सामाजिक सञ्जालमा सरकारको आलोचना गरेकै कारण उपाध्याय पक्राउ परेका हुन् । उनलाई थुनामा राख्न प्रहरीले बिहीबार तीन दिनको म्याद पाएको छ ।

Published : Thursday, 2020 April 23, 4:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया