पक्राउ परेका पूर्वसचिवलाई छाड्न तरुण दलको माग

काठमाडौं । नेपाल तरुण दलले लोकतन्त्र स्थापनाका लागि ज्यानको आहुती दिने ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बिहीबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘हामी लोकतन्त्र स्थापनाको यो पवित्र दिवस मनाई रहंदा सरकार भने लोकतन्त्रका मूल्य मान्यता माथि नै धावा बोल्दै लोकतन्त्रका सुन्दर गहना अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्रपूर्वक जीवनयापन गर्न पाउने अधिकार माथि कुठाराघात गरिरहेको छ ।’

‘यसै सिलसिलामा सरकारका कुकृत्यको अबरोध गरेर सामाजिक संजालमा आफ्ना अभिव्यक्ति राखेका कारण हिजो मात्र नेपाल सरकार पूर्वसचिव इन्जिनियर भीम उपाध्यायलाई पक्राउ गरिएको छ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

‘विपक्षी पार्टीका केही सांसदलाई अपहरणको शैलीमा होटलभित्र बन्धक बनाइएको भन्ने सुन्नमा आएको छ’, उनले भनेका छन् ।

‘सबैको अभिभावक र रक्षक बन्नुपर्ने सरकार आफै यस्ता घृणित कार्यमा लाग्नु निन्दनीय छ’, उनले भने, ‘सरकारका यस्ता निच कार्यको घोर भर्त्सना गर्दछौँ ।’

‘झुटा आरोप लागाई पक्राउ गरिएका भीम उपाध्यायलाई तत्काउ बिना सर्त रिहा गर्नका लागी जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा यस्ता लोकतन्त्र बिरोधी गतिविधि नरोकिए लोकतन्त्र रक्षाका लागि नेपाल तरुण दल जस्तो सुकै आन्दोलन गर्न तयार रहेको कुरा जानकारी गराउछौँ ।’

Published : Thursday, 2020 April 23, 1:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया