कांग्रेसद्वारा यी दलहरूसँग छलफल गर्दै, एक्लियो कम्युनिस्ट सरकार

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोना भाइरसको संक्रमणविरुद्ध एक भएर सामना गर्ने बेला दुई वटा अध्यादेश जारी गरेपछि रिसाएको नेपाली कांग्रेसले सरकार बाहिर रहेका दलहरूसँग परामर्श गर्ने भएको छ ।

कांग्रेसले कम्युनिस्ट सरकारले ल्याएको दुई अध्यादेशका विषयमा बुधबार छलफल गर्न लागेको हो । छलफल दिउँसो दुई बजे कांग्रेसको पार्टी मुख्यालय सानेपामा हुनेछ ।

नेपाली कांग्रेसले सरकारको अध्यादेशविरुद्ध छलफलका लागि राप्रपाका अध्यक्ष पशुपति शम्शेर राणा, संघीय समाजवादी पार्टीका उपेन्द्र यादब, राजपाका संयोजक शरतसिंह भण्डारी, नेमकिपाका अध्यक्ष नारायामान बिजुक्छे लगायतलाई बोलाइएको छ ।

कम्युनिस्ट सरकारले राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थालाई संशोधन गर्दै पार्टीको केन्द्रीय कार्यसमिति वा संसदीय दलमा ४० प्रतिशत पुगेमा दल विभाजन गर्न सकिने अध्यादेश ल्याएको छ ।

संवैधानिक परिषदको गणपुरक संख्या घटाउने व्यवस्थासहितको दुई अध्यादेश पनि कम्युनिस्ट सरकारले ल्याएको छ । यी दुबै अध्यादेशको कांग्रेसले विरोध गर्दै आएको छ ।

Published : Wednesday, 2020 April 22, 10:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया