ओलीको अधिनायकवादले सीमा नाघ्याे, तरुणहरूले राेक्छाैँः उत्तम चापागाइँ

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीमा अधिनायकवादको आकांक्षा प्रकट हुँदै गएको बताएका छन् ।

मंगलबार उपाध्यक्ष चापागाइँले प्रेस नोट जारी गरेर ओलीमा पलाएको निरंकुशताको आकांक्षाले देशमा राजनीतिक अस्थिरता पैदा गरेको बताए । उनले सरकारले सोमबार जारी गरेको दुई अध्यादेशले लोकतन्त्रमाथि खतरा उत्पन्न भएको बताएका छन् ।

उनले संविधानको ढाडमा टेकेर संवैधानिक ब्यवस्थाको टाउकामा प्रहार गर्ने काम भएकाे भन्दै गराउने र गर्ने दुवै लाई झन् खतरा रहेकाे बताएका छन् ।

उनले अनिष्टकारी कदम तुरुन्त फिर्ता लिन ओलीसँग माग गरेका छन् । उनले ओलीमा पलाएको अधिनायकवादको अहँकारलाई देशभरिका तरुणहरूले तोड्नुपर्ने बताएका छन् ।

झण्डै दुईतिहाई जनमत पाउँदा पनि कम्युनिस्टहरूले देश र जनतालाई सुशासन दिनुपर्नेमा अध्यादेशमार्फत संविधान संशोधन गरी राजनीतिक अस्थिरताको बीउ रोपेको उपाध्यक्ष चापागाइँले बताए ।

उनले दुई वर्षको समयमा कम्युनिस्ट सरकार काण्डैकाण्डमा परेको भन्दै कोरोना भाइरसबाट जनताको जीवन रक्षा गर्ने अध्यादेशबाट देश चलाउन थालेको बताएका छन् ।

‘ओली सरकारले जनताको विश्वास गुमाएपछि, आफूलाई सत्तामा कायम राख्न प्रधानमन्त्रीमा स्पष्टतः निरंकुश, व्यक्तिवादी सोँच हावी भएको छ’, उनले भनेका छन् ।

मानवीय विवेक र राजकीय जिम्मेवारीको वोध भएको नेताले गर्नै नसक्ने काम प्रधानमन्त्री ओलीले गरेको भन्दै तरुण दलका उपाध्यक्ष चापागाइँले पार्टी फूट र जुटको घृणित राजनीति तथा संवैधानिक निकायमाथिको पूर्ण नियन्त्रणबाट शासन चलाउन खोजेको आरोप लगाएका छन् ।

नेपाली राजनीतिक वृत्तमाथि नै आम जनमानसमा चरम अविश्वास बढ्दै गएको बेला सरकारले ल्याएको उक्त अध्यादेशले नेपालको लोकतन्त्रलाई नै संकटतर्फ उन्मुख गर्ने उनले बताएका छन् ।

आफ्नो असक्षमता र अकर्मण्यता छोप्न स्थापित संस्था तथा लोकतन्त्रका मूल्यमान्यतामाथि प्रहार गर्ने पुरानै नेपाली राजनीतिको शैलीको पुनरावृत्ति गरेको उनले ओलीलाई आरोप लगाका छन् ।

उनले कम्युनिस्ट सरकारलाई स्वार्थलिप्त, गैरजिम्मेवार, विकृत, विसंगतिपूर्ण, राष्ट्रघाती राजनीतिको परिणाममा केन्द्रित रहेको जनाएका छन् ।

Published : Tuesday, 2020 April 21, 11:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया