लकडाउनको मौकामा कम्युनिस्टहरूले लोकतन्त्र र संविधान ध्वस्त बनाउने भएः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले कम्युनिस्ट सरकारले ल्याएका दुई अध्यादेशमध्ये संवैधानिक परिषदलाई प्रमुख विपक्षी दल मुक्त बनाउने हर्कत गम्भीर रहेको टिप्पणी गरेका छन् ।

पूर्वसांसद समेत रहेका खतिवडाले सोमबार साँझ रिपब्लिका दैनिकसँग कुरा गर्दै संवैधानिक निकायहरूलाई ध्वस्त बनाउने गरेर ल्याइएको संवैधानिक परिषदसम्बन्धि अध्यादेश खतरनाक रहेको बताए ।

उनले संबैधानिक परिषदसम्बन्धि अध्यादेशले लोकतन्त्रलाई ध्वस्त गर्ने बताएका छन् । ‘संविधान र लोकतन्त्रलाई ध्यवस्त बनाउने संवैधानिक परिषदसम्बन्धि अध्यादेश कांग्रेसले कुनै पनि हालतमा स्वीकार्य छैन’, उनले भने, ‘कोरोना भाइरसका कारण मुलुक सहमतिका साथ अगाडि बढिरहेका बेला सरकारले मौका छोपेरे लोकतन्त्रलाई ध्वस्त बनाउने खेलमा लागेको छ ।’

कम्युनिस्ट सरकारले सोमबार ल्याएको दुई अध्यादेशमध्ये संवैधानिक परिषदसम्बन्धि अध्यादेशमा संवैधानिक परिषदमा प्रमुख विपक्षी दलको नेता सदस्य रहने प्रावधान हटाइएको छ । यसअघि परिषदमा प्रमुख विपक्षी दलको नेता सदस्य रहने व्यवस्था थियो ।

अर्को अध्यादेश राजनीतिक दलसम्बन्धि रहेको छ । सो प्रावधानअनुसार ४० प्रतिशत बहुमत पु¥याएमा अर्को दल खोल्न पाइनेछ ।

सो विषयमा नेपाली कांग्रेसका युवा नेता खतिवडाले बेमौसमको बाजा भनेर टिप्पणी गरेका छन् । ‘अहिले नेकपाकै झण्डै दुईतिहाइ बहुमत छ । नेकपालाई किन चाहिलो दल फुटाउने कानून ?’, उनले प्रश्न गर्दै भनेका छन्, ‘जनताले पाँच वर्ष काम गर्न दिएको अधिकार हुँदा हुँदै बालुवाटारले अधिकार दुरुपयोग गरेको छ ।’

खतिवडाले पाँच वर्षसम्म नेकपाले सरकार चलाउनुपर्ने र जनताका आवश्यक्ता पूरा गर्नुपर्ने बताए । उनले यस्तो संकटका बेला कम्युनिस्ट सरकारबाट गरिएको निर्णयले देशभरिका जनतालाई ठेस पु¥याएको बताए ।

Published : Monday, 2020 April 20, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया