कोरोनासँग लड्ने बेला कम्युनिस्ट सरकार बालुवाटारबाट बाँसुरी बजाउँदै छः तरुण दल

काठमाडौं । नेपाल तरुण दलले कम्युनिस्ट सरकारले कोरोना भाइरसको संक्रमणबाट जनतालाई जोगाउने बेलामा दुइटा अध्यादेश जारी गरेर बेमौसमको बाजा बजाएको जनाएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सोमबार साँझ प्रेस नोट जारी गर्दै सरकारद्वारा जारी भएका दुई वटा अध्यादेशको विरोध गरेका हुन् ।

‘अध्यादेश ल्याउने सरकारको कार्य आपत्तिजनक कदम र गैह्र जिम्मेवार प्रवृत्ति छ’, अध्यक्ष बस्नेतले भनेका छन्, ‘अध्यादेश ०७७ राष्ट्रपतिबाट पारित हुनु संविधानको मर्म बिपरित, गलत राजनीतिक अभ्यासले अस्थिरतासंगै लोकतन्त्र धरापमा पर्न सक्ने हुँदा देश र नागरिकका लागि दुर्भाग्यपूर्ण छ ।’

‘अस्थिरता निम्तिने संभावना छ’, उनले भनेका छन्, ‘नालायकहरूको उल्टोमती, विनाशकाले विपरित बुद्धि भएको छ । बालुवाटारमा बसेर निरो बासुरी बजाइरहेछ ।’

कम्युनिस्ट सरकारले दल विभाजनसम्बन्धी राजनीतिक दल अध्यादेश र संवैधानिक परिषदसम्बन्धी दुई अध्यादेशलाई राष्ट्रपतिमार्फत जारी गराएको छ । ती दुई अध्यादेशको विरोध भइरहेको छ ।

Published : Monday, 2020 April 20, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया