सचिवालयमा ओलीलाई तनाब, बैठक सकिनेवित्तिकै शीतल निवास पुगे

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीलाई अझ एकताबद्ध बनाउने निर्णय गरेको छ ।

दुई वटा अध्यादेश जारी भएपछि आकस्मिक रुपमा बालुवाटारमा सोमबार साँझ बसेको नेकपाको बैठकले पार्टीलाई अझ एकतावद्ध रुपमा अगाडि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपाले कोरोना भाइरसको संक्रमणविरूद्ध जारी लडाइँमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको जनाएको छ ।

‘मन्त्रिपरिषदले निर्णय गरी अघि बढाएका अध्यादेशहरूको बारेमा छलफल भयो’, प्रवक्ता श्रेष्ठले भने, ‘ती विषयमा प्रधानमन्त्रीज्यूले कुरा राख्नुभयो । अध्यादेश ल्याउनुपर्ने विषयमा प्रधानमन्त्रीले केही विषय प्रस्ट्याउनु भएको छ ।’

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराउनुभयो’, श्रेष्ठले भने, ‘तत्पश्चात् अरू कमरेडहरूले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा आ–आफ्नो धारणा राख्नुभयो ।’

बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले कोरोना भाइरससँग सिङ्गो मुलुक एक भएर सघर्ष गरिरहेका बेला दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर ठूलो गल्ती गरेको भन्दै आलोचना गरेका थिए । स्रोतका अनुसार ओलीले एकलौटी रुपमा अध्यादेश ल्याएको भन्दै सचिवालयका सदस्यहरू रिसाएका थिए ।

आलोचना भएपछि ओली केही बोल्न नसकेको स्रोतले जनाएको छ । ‘छलफलकै बीचमा राष्ट्रपतिज्यूबाट अध्यादेश जारी भएको सूचना प्राप्त भयो’, प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय सचिवालयको बैठक सकिनेवित्तिकै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् । ओली करीव साढे सात बजेतिर शीतल निवास गएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Published : Monday, 2020 April 20, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया