लकडाउनमा बागमती गाउँपालिकाले पालना गर्‍यो कांग्रेसको निर्देशन

ललितपुर । काठमाडौं उपत्यकाका मुख्य नाकाहरूमा सुरक्षाकर्मीले पैदल यात्रुलाई आवातजावतमा रोकेपनि ललितपुरको कान्तिलोकपथ हुँदै उपत्यका बाहिरिनेहरूको संख्यामा कमी आएको छैन ।

लकडाउन नखुलेपछि मजदुर र समस्यामा परेका परिवारहरू कान्तिपथ हुँदै घर फर्किन थालेका छन् । काठमाडौंबाट हेटौंडा पुग्ने सबैभन्दा छोटो मार्ग कान्तिलोकपथमा पैदल यात्रुको भीड हुने गरेको छ ।

बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले कान्तिलोकपथ हुँदै घर जानेहरूको संख्या बढेको बताएका छन् । उनले भने, ‘मान्छेको भीड धेरै छ ।’
सबैलाई राहत वितरण गर्न नसक्दा अधिकांश मजदुर र डेरामा बस्ने परिवार घर फर्किएका हुन् ।

अध्यक्ष लोप्चन कांग्रेसबाट निर्वाचित भएका हुन् । केही दिनअघि मात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका स्थानीय जनप्रतिनिधि र भ्रातृ तथा शुभेच्छुक संगठनलाई पैदल यात्रुलाई खाना, बस्न र गन्तव्यसम्म पुग्न सहजीकरण गर्न निर्देशन दिएका थिए ।

कान्तिलोकपथसँग जोडिएको बागमती गाउँपालिकाले पैदल यात्रुलाई खानेकुरा, बास र यातायातको व्यवस्था गरेर सहयोग गरिरहेको छ ।

बृद्धबद्धा, सुत्केरी र बिरामीलाई लक्षित गरेर गाउँपालिकाले बसोबास र यातायातको व्यवस्था गरिरहेको अध्यक्ष लोप्चनले जानकारी दिए । पानी परिरहेका बेला होस् या मध्यरातमा, कान्तिलोकपथपमा हिड्नेको संख्यामा कमी छैन ।

शनिबार पानी परिरहेको थियो । चट्याङको डर उस्तै थियो । तर, पनि मान्छेहरूको विजोग तरिकाले हिँडिरहेका थिए । सुरक्षाकर्मीसँगको समन्वयमा स्थानीय तहले पैदल यात्रुलाई सहयोग गरिरहेको छ ।

उनीहरूलाई ललितपुरको तीनपाने भञ्ज्याङदेखि मकवानपुरको बकैया गाउँपालिकासम्म पुर्‍यादिने व्यवस्था बागमती गाउँपालिकाले गरिदिएको छ । लामो दूरीमा हिँडेका पैदल यात्रुहरूले गाउँपालिकाको कामको प्रशंसा गरेका छन् ।

Published : Monday, 2020 April 20, 6:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया